काठमाडौ- अस्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोना भाइरस भेटिएपछि सिड्नीमा ओर्लिएका २ हजार ७ सय यात्रुलाई छुट्टै बस्न आपत्कालीन चेतावनी जारी गरिएको छ।
न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेका छन्।
सो जहाज बिहीबार सिड्नीमा रोकिएको थियो। जहाजमा चालकदलका १ हजारभन्दा धेरै मानिससहित कूल ३हजार ८ सय मानिस चढेको बताइएको छ। सो जहाज सिड्नीमा फर्कनुअगाडि न्यूजिल्यान्ड पुगेको थियो। अस्ट्रेलियाका अधिकारीहरूले सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन्।
‘हाम्रो ठूलो चिन्ता, वास्तवमा निकै ठूलो चिन्ता भनेको सो जहाजमा कोभिड-१९ को बारेमा जानकारी नभई झरेका यात्रुहरू हुन्’ हजार्डले बताए।
उनले दुई यात्रु र एक चालकदलका सदस्यमा कोरोना भाइरस देखिएको बताए। कोरोना भाइरस भएको शङ्का लागेका एक व्यक्ति तास्मानिया फर्किसकेको बताइएको छ।
पानीजहाज आउनुअगाडि नै अस्ट्रेलियाका विदेशबाट फर्कने सबैलाई १४ दिन सेल्फ क्वारेनटाइनमा बस्नुपर्ने नियम भने लागू भइसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।