काठमाडौं– सर्वोच्चसहित देशभरका अदालतमा कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको भन्दै वकिलहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि 'फुल कोर्ट'को बैठक बसेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा सर्वोच्चका सबै न्यायाधीशहरुको बैठक सुरु भएको सर्वोच्चले जनाएको छ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसियनसले पत्र लेखेर प्रधानन्यायाधीश राणालाई सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए। जिल्ला र उच्च अदालत बार एशोसियसनले पनि बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोक्न माग गरेका छन्।
सरकारले पनि २५ जनाभन्दा धेरै मानिस भेला हुने कार्य नर्गन र अत्यावश्यक काम बाहेक अन्यमा घर बाहिर ननिस्कन आग्रह गरेकाले सर्वोच्चले अदालतको मुद्दा सुनुवाइको बारेमा निर्णय लिन बैठक बोलाएको हो। फुल काेर्ट बैठकका लागि सर्वोच्चले आज तोकिएका पेशीहरु यसअघि नै स्थगित गरिसकेको छ।
बिहीबार पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको मृत्युका कारण देशभरका अदालत बिदा रहेका थिए भने शुक्रबार सुनुवाइको लागि अदालत खुल्ला भएका छन्। अदालतको काममा सेवाग्राही र कानुन व्यवसायी जम्मा हुने उक्त भीडले कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै कानुन व्यवसायीहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन्।
फुल काेर्टको निर्णयले देशभरका अदालतमा बन्दी बाहेकका सबै मुद्दाको सुनुवाइ तत्कालका लागि रोक्ने निर्णय गर्ने सम्भवाना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।