काठमाडौं- कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउने भन्दै अघिल्लो साता आयोजना गरिएको सार्क भिडियो कन्फरेन्सको दुरुपयोग गरेको आरोप भारतले पाकिस्तानलाई लगाएको छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका नेताहरुको भिडियो कन्फरेन्समा काश्मिरको कुरा उठाएको भन्दै पाकिस्तानलाई यसको दुरुपयोग गरेको आरोप लगाएको हो।
सार्क राजनीतिक मञ्च नभई मानवीय मञ्च भएको भारतको भनाइ छ। ‘यो संकटले कुनै सीमा चिन्दैन,’ नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, ‘यही भावका साथ प्रधामन्त्रीले सार्क भिडियो कन्फरेन्स बोलाउनु भएको थियो। यो मञ्च राजनीतिकभन्दा मानवीय थियो। उनीहरुले यसको दुरुपयोग गरे।’
कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत भिडियो कन्फरेन्सको प्रस्ताव गरेपछि १ चैतमा सार्क क्षेत्रका राष्ट्र तथा सरकार प्रमुखको सहभागितामा भिडियो कन्फरेन्स भएको थियो।
उक्त कन्फरेन्समा पाकिस्तानको नेतृत्व गरेका त्यहाँका स्वास्थ्य राज्यमन्त्री जफर मिर्जाले भारतले लगाएको प्रतिबन्धका कारण काश्मिर क्षेत्रका जनतालाई असहज भएको भन्दै त्यसलाई फुकुवा गरेर कोरोनाविरुद्ध लड्न सहयोग गर्नुपर्ने धारणा राखेका थिए।
सार्कको अठारौं सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो। भारत र पाकिस्तानबीचको आपसी द्वन्द्वका कारण त्यसयता कुनै पनि सम्मेलन हुन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।