काठमाडौं- कोरोना भाइरसको प्रभावका कारण प्रदेश सभाका बैठकहरु धमाधम स्थगित हुन थालेका छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले १८ बुँदे निर्णय सार्वजनिक गरेपछि त्यसको प्रभाव प्रदेश सभामा देखिन थालेको हो।
प्रदेश १, प्रदेश २,बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश सभाहरु अनिश्चित कालका स्थगित भएका हुन्।
प्रदेश ५ ले चैत १६ गते र कर्णाली प्रदेशले चैत १३ मा बैठक बोलाएका छन्।
कोरोनाको त्रास यस्तै रहे बोलाइएको बैठक स्थगित हुन सक्ने प्रदेश ५ का सभामुख पूर्ण घर्तीका स्वकीय सचिव ध्रुबविक्रम ओलीले बताए।
पाँच प्रदेशका प्रदेश सभा अनिश्चित
प्रदेश १ को बैठक बिहीबार बसेको थियो। प्रदेश सभा तत्कालका लागि स्थगित गरिएको समाजिक विकास मन्त्री जीवन घिमिरेले बताए।
उनले कोरोना भाइरसको सुरक्षालाई ख्याल गर्दै अर्को सूचना टाँस नहुँदासम्म बैठक स्थगित भएको जानकारी दिए।
यस्तै, प्रदेश २ को प्रदेश सभा बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना भाइरसको त्रासलाई ध्यान दिँदै बैठक स्थगित गरिएको हो। बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवले बैठक अनिश्चित कालको लागि स्थगित भएको जानकारी दिएका थिए।
बागमती प्रदेशको प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।
कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न संघीय सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्दै प्रदेश सरकारका नयाँ योजना बनाउन मन्त्रिपरिषद्को विशेष बैठक बोलाइएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको सो बैठकमा कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै तयारी तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति तथा सामग्रीको विषयमा छलफल भएको छ।
यस्तै, गण्डकी प्रदेश सभा सचिवालयले बिहीबार १ बजे बैठक बोलाएको थियो। तर, कोरोना भाइरस काग्रेसले राखेको विभिन्न विधेयकको असहमतिलाई ध्यान दिई संसद अनिश्चित कालका लागि बन्द गरिएको प्रदेश सांसद आशा कोइरालाले बताइन्। अर्को सूचना टाँस नहुँदासम्म प्रदेश सभा बैठक स्थगित भएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशले ११ फागुन प्रदेश सभा बैठक बसेको थियो। स्थानीयतहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा विधेयक संसदमा दर्ता भएको छ। तर, कोरोना भाइरसका कारण अर्को बैठक कहिले बस्ने कुनै निश्चित भई नसकेको सुदूरपश्चिम सभामुखको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।