काठमाडौं- अर्थ मन्त्रालयले सेयर बजार लगातार ओरालो झरेसँगै नेपाल धितोपत्र बोर्डले आफ्नो सक्रियता बढाएको छ। बुधबार प्रेश विज्ञप्ति जारी गरी लगानीकर्तालाई नआत्तिन अनुरोध गरेको बोर्डले बिहीबार सम्पूर्ण सरोकारवाला पक्षसँग छलफल गरेको छ।
लगानीकर्ता र ब्रोकरहरुले सेयर बजार केही समयका लागि रोक्न अनुरोध गरेका थिए। करोनाको प्रभाव कम नभएसम्मको लागि बजार रोक्न एसोसिएसन र लगानीकर्ताका संघ संस्थाले अनुरोध गरे पनि आधिकारिक रुपमा बन्द गर्ने निर्णय भने भएको छैन।
यसै अवधिमा सेयर बजार भने १३.५० अंकले सुधार भएको छ। कारोबार सुरु भएको केही समय रातो देखिएको बजार अन्तिम तीन घण्टा सुधार देखिएको थियो। बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा कम्पनी, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फण्डको सूचकमा सुधार देखिएको छ।
वाणिज्य बैंकको सूचक १३.६५ अंकले सुधार हुँदा समग्र नेप्से सूचक नै सुधार देखिएको हो। जनउत्थान र राधी जलविद्युतको सेयर ९ प्रतिशतभन्दा माथिको सुधार भएको छ।
सूचकमा सामान्य सुधार भएसँगै कारोबार रकम बढेको छ। साताको अन्तिम दिन एक अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ। हिमालयन डिष्ट्रिलरीको मात्रै ३१ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ।
कोरोनाले पार्न सक्ने प्रभावलाई मध्यजनर गर्दै सरकारले उच्च सतर्कता अपनाएको छ। होटल उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। विश्व विद्यालय तथा स्कुल कलेज पुरै ठप्प छन्। यसले आर्थिक गतिविधिलाई सुस्तता प्रदान गरिसकेको छ। यसले भोलीका दिनमा सूचिकृत कम्पनीको नाफामा असर पुर्याउनेछ। जसको प्रभाव सेयर बजारमा देखिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।