काठमाडौं- सरकारले बुधबार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै २५ जनाभन्दा बढी मानिसलाई एकै ठाउँमा भेला हुन निषेध गरेको हो। तर बागमती प्रदेशअन्तर्गतका यातायात कार्यालयहरु भने निर्वाध रुपमा चलिरहेका छन्। उक्त कार्यालयहरुमा दैनिक २५ सय जनासम्म सेवाग्राही सेवा लिन जाने गरेका छन्।
केन्द्र सरकारकाले गठन गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जनाभन्दा बढी मानिस एकैपटक जम्मा हुन नपाउने निर्णय गरेसँगै एसइई परीक्षा समेत स्थगित भइसकेको छ। तर बागमती प्रदेशअन्तर्गतका मोटरसाइकल, सानाठूला सवारी कार्यालय तथा सवारी चालक अनुमतिपत्र कार्यालयहरु निर्वाध रुपमा सञ्चालन भइरहेका छन्।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलको संयोजकत्वमा बसेको समन्वय समितिको बैठकले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोके कारबाही गर्ने तथा सवारीसाधनहरु नियमित रुपमा सफा गरी किटाणुमुक्त बनाएर चलाउनुपर्ने व्यवस्था समेत गरिएको छ। तर कार्यालयहरुमा सवारी नामसारी, नयाँ दर्ता तथा कर तिर्न आउने सेवाग्रहीको ठूलो भिड लाग्दा समेत सरकारले ठोस कदम चालेको छैन।
कार्यालयले आफ्नोतर्फबाट कर्मचारीहरुका लागि मास्क, ग्लोभ र स्यानिटाइजर उपलब्ध गराएर काम गराउनुपर्ने अवस्था रहेको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी एकान्तकुनाका प्रमुख यादवनाथ आचार्यले बताए। ‘सरकारले नभनेसम्म हामीले काम रोक्न सक्ने अवस्था आउँदैन,’ उनले नेपाल लाइभसँग भने, ‘कर लिने विषय भएकाले समय नाघेपछि जरीवाना लाग्ने हुन्छ। रोकिँदा त्यो मिनाहा गर्ने विषय मन्त्रिपरिषद्ले मात्र गर्न सक्ने भएकाले हामीले काम रोक्न सक्दैनौं।’
कर्मचारीहरुमा पनि त्रासकै अवस्थामा काम गरिरहेको उनको भनाइ छ। ‘चैत महिना कर तिर्ने महिना भएकाले कार्यालयमा चाप हुन्छ,’ आचार्यले भने, ‘कर्मचारीलाई बिदा माग्दा दिनसक्ने अवस्थासमेत नभएको बेला कोरोनाको त्रासमा काम गर्नुपरिरहेको छ।’ प्रदेश मन्त्रालयलाई के गर्न सकिन्छ भन्ने विषयमा पत्र पठाएको उनले बताए। सरकारबाट निर्देशन नआएसम्म कार्यालय सञ्चालन रोक्न नसकिने आचार्यको भनाइ छ।
कर तिर्ने महिना भएकाले यातायात कार्यालय साना/ठूला सवारीमा हाल दैनिक २५ सय जनासम्म सेवाग्रही आउने गरेका छन्। कार्यालय आफ्नै कर्मचारीको संख्या ८० भन्दा बढी रहेको कार्यालयले जनाएको छ।
त्यस्तै अर्को सतुंगलमा रहेको सवारी तथा यातायात व्यवस्था कार्यालय मोटरसाइकल समेत चलिरहेको छ। सरकारले २५ जनाभन्दा बढी मानिस जम्मा नहुन सूचना जारी गरेको भएपनि आफूहरुले कार्यालय बन्द गर्न नमिलेको मोटरसाइकल कार्यालय प्रमुख दिपक पोख्रेलले जानकारी दिए।
कर उठाउने, ब्लुबुक नविकरण गर्न, नयाँ सवारी दर्ता गर्नेलगायत काम हुने कार्यालय हामीले नै बन्द गर्न मिल्ने कुरा भएन भन्दै पोख्रेलले भने, ‘प्रदेश सरकारको निर्देशन पर्खेर बसिरहेका छौं। जे निर्देशन हुन्छ त्यहीअनुसार अघि बढ्छौं।’ मोटरसाइकल कार्यालयमा दैनिक सेवा लिनेको संख्या १५ सयभन्दा बढी हुने गरेको पोख्रेलले बताए। त्यस्तै सवारी चालक अनुमतिपत्र कार्यालय समेत निर्वाध रुपमा सञ्चालन भइरहेको छ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले यस विषयमा छलफल भइरहेको जनाएको छ। प्रदेश सरकारले आवश्यक तयारी तथा के गर्ने भन्ने विषयमा छलफल गरेर निष्कर्षमा पुगिने मन्त्रालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।