काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विश्व खेलकुद गतिविधि ठप्प छन्। त्यसैले ओलम्पिक के गर्ने भन्ने छलफल चलिरहँदा विश्व एथ्लेटिक्सका प्रमुख लर्ड कोएले अहिले नै ओलम्पिक सार्न हतारो हुने बताएका छन्।
ओलम्पिक खेलकुद आउँदो जुलाई २४ देखि अगस्ट ९ सम्म जापानमा हुने तय छ। जसमा २ सय ५ भन्दा बढी देशका ११ हजार भन्दा बढी खेलाडी र लाखौँ दर्शक सामेल हुनेछन्।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि तोकिएकै मितिमा खेल सञ्चालन गर्न सकिने बारे कुराकानी गरिरहेको छ। यस्तोामा विश्व एथ्लेटिक्सका प्रमुख लर्ड कोएले भनेका छन्– ‘हतारोमा कुनै पनि निर्णय गर्नु ठीक होइन, हामीसँग अझै समय छ। हरेक कुरा सम्भव छन्, विकल्प समय आएपछि खोज्न सकिन्छ।’
कोरोना भाइरसको संक्रमण फैलँदै गए पनि जापानमा हुने भनिएको ओलम्पिकलाई असर नगर्ने गरी काम गरिएको जापानका ओलम्पिक प्रमुख कार्यकारी तोसिरो मुटोले पनि बताएका थिए।
ओलम्पिकलाई कोरोनाले असर गर्ने विश्व खेलकुदमा चलिरहेको बहसपछि ओलम्पिक प्रमुख कार्यकारी तोसिरोले असर नगर्ने गरी काम गरिएको बताएका हुन्। गएको शनिबार जापानका प्रधानमन्त्री सिन्जो आबेले पनि ओलम्पिक तोकिएकै समयमा सम्पन्न हुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।