काठमाडौं- सरकारको उच्च स्तरीय समितिको निर्णयले कोरोनाबाट अतिप्रभावित खाडी मलेसियालगायत यूरोपबाट आउने नेपालीलाई समेत तत्कालका लागि प्रतिबन्ध लगाइएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन्।
बुधबार सरकारको निर्णयमा भएको अन्यौलताका कारण केही सञ्चारमाध्यमहरुमा नेपालीलाई प्रतिबन्ध नभएको समाचार प्रकाशित भए पनि नेपालीलाई प्रतिबन्ध नै गरिएको मन्त्री ज्ञवालीले बताएका हुन्।
‘कोरोना भित्रिन नदिने हाम्रो रणनीति हो सोहीअनुसार हामीले तत्कालका लागि यस्तो निर्णय गरेका हौं‚’ नेपाल लाइभसँग बोल्दै मन्त्री ज्ञवालीले भने।
सरकारको निर्णयअनुसार मार्च २० देखि अप्रिल १५ सम्म यूरोपका सबै मुलुक, पश्चिम एसियालगायत मलेसिया र खाडी क्षेत्रमा रहेका नेपालीहरु, इरान, टर्की, दक्षिण कोरिया, जापानबाट सोझै आउन पाउने छैनन्।
ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट समेत आउन सबै यात्रुलाई प्रतिबन्ध लगाइएको छ। सरकारको यो निर्णयप्रति विदेशमा रहेका नेपालीहरुले आलोचना गरिरहेका छन्।
अन्य मुलुकहरुले आफ्नो देशका नागरिक कोरोना प्रभावित मुलुकबाट फर्किएको अवस्थामा १४ दिन क्वारेन्टाइनमा राखेर प्रवेश गर्न पाउने व्यवस्था गरे पनि नेपाल सरकारले पुरै प्रतिबन्ध लगाउने गैर जिम्मेवारी निर्णय गरेको भन्दै आलोचना गरेका हुन्।
यात्रु आवागमनमा प्रतिबन्धसँगै सरकारले अन्तराष्ट्रिय उडानसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सरकारको यो निर्णयबाट मार्च २० अगावैका अन्तर्राष्ट्रिय उडानहरुसमेत प्रभावित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।