काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को जोखिम बढ्दै जाँदा भारतको कलकत्ता बन्दरगाहमा आइपुगेका नेपाली सामान १४ दिन समुन्द्र तटमा नै राख्न थालिएको छ। कलकत्ता बन्दरगाह व्यवस्थापनले नेपाल आउने सामान समुन्द्रको तटमा १४ दिन राखेपछि मात्रै नेपाल पठाउने प्रक्रिया अघि बढाउन थालेको छ।
नेपाली व्यवसायीहरुका अनुसार कोरोनाको जोखिम बढेसँगै बन्दरगाह व्यवस्थापनले विभिन्न देशबाट नेपाल आयात गर्न लागिएका ती मालवस्तुको पारवहन प्रक्रियामा दुई साता ढिलो गर्न थालेको हो। उनीहरुले आयातित सामानको तत्काल प्रक्रिया अघि बढाउँदा कोरोना संक्रमणको जोखिम हुने भएकाले पारवहनमा ढिलाइ गर्न थालेका हुन्।
भन्सार विभागका अधिकारीहरुले नेपाल ल्याउने सामानमा ढिलाइ हुन थालेको जानकारी आएको पुष्टि गरेका छन्। विभागका महानिर्देशक सुमन दाहालले समुन्द्रमा नै केही समय राखेर मात्रै नेपालमा सामान भित्र्याउने प्रक्रिया अघि बढाउन व्यवस्था गरिएको जानकारी आएको बताए।
चीनसँगको व्यापारिक नाका पूर्ण रुपमा बन्द भएकाले अहिले सबै सामान भारतीय बाटो हुँदै नेपाल भित्रिरहेका छन्। भारतको कलकत्ता र विशाखापट्टनम बन्दरगाह हुँदै नेपालमा सामान भित्रिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।