एजेन्सी- अस्ट्रेलियाले शुक्रबार रातिबाट सबै विदेशी नागरिकको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री स्कट मरिसनले सबै विदेशी नागरिकमाथिको प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन्।
‘अस्ट्रेलियाली नागरिक र तिनका परिवारका सदस्यबाहेकका व्यक्तिलाई प्रवेशमा रोक लगाउनैपर्ने निर्णयमा हामी पुगेका छौं,’ बिहीबार दिउँसोको पत्रकार सम्मेलनमा प्रधानमन्त्री मरिसनले भने‚ ‘हामीले प्रतिबन्ध लगाउनुको मुख्य कारण अस्ट्रेलियामा देखिएको कोरोना भाइरस संक्रमणमध्ये ८० प्रतिशत केस विदेशमै वा विदेशबाट आएका व्यक्तिको सम्पर्कमा आएको कारण भएको देखियो ।’ बिहीबार बिहानसम्म अस्ट्रेलियामा ६ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ।
न्युजिल्याण्डमा पनि विदेशीलाई रोक
न्युजिल्यान्डले पनि शुक्रबारदेखि विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने भएको छ। प्रधानमन्त्री जसिन्डा आर्डेनले बिहीबार न्युजिल्यान्डको सुरक्षाका लागि विदेशी नागरिकको प्रवेशमा रोक लगाएको बताएकी छन्। ‘न्युजिल्यान्डको इतिहासमा कहिले यस्तो शक्ति प्रयोग गरिएको थिएन‚’ उनले भनिन्‚ ‘मैले यसलाई अहिलेसम्मकै कठोर तथा नयाँ कदम ठानेको छु।’ देश र हाम्रा नागरिकको स्वास्थ्यका लागि यो कदम चाल्नैपर्ने भएपछि यस्तो निर्णय लिएको उनले बताए। बिहीबार बिहानसम्म न्युजिल्यान्डमा २८ जनामा संक्रमण देखिएको छ।
बिहीबार बिहानसम्म कोरोना संक्रमणबाट ८ हजार ९ सय ७० को मृत्यु भएको छ भने २ लाख १९ हजार ३ सय ६७ जना संक्रमित भएका छन्। त्यस्तै संक्रमितमध्ये ८५ हजारभन्दा बढी निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।