काठमाडौं– नेपाल टेलिकमका नम्बरमा फोन गर्दा ‘एनटी सूचनाको संसार’ सेवामार्फत् कोरोना भाइरसको संक्रमणबाट हुने रोग कोभिड–१९ बारे जानकारीमूलक सन्देश राखेको छ। मोबाइलमार्फत् ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरेको छ।
योसँगै फोन गर्दा जाने घन्टीको सट्टामा पनि कोरोना भाइरसको सन्देशमूलक जानकारी गराउने भएको छ।
उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षण, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपाय र अपनाउनु पर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरूका बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।
साथै यससम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरसमेत यहीबाट थाहा पाउन सकिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ।
नेपाल टेलिकमले गत असार महिनादेखि नै ‘एनटी सूचनाको संसार’सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ। यो एक प्रकारको कल–इन सिस्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत् ३२१०० मा कल गरेर ध्वनि निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।