काठमाडौं- त्रिभुवन विश्वविद्यालयले २०७६ चैत्र ६ गतेका लागि निर्धारण गरेका परीक्षाका सबै कार्यक्रम यथावत् रूपमा संचालन गर्ने निर्णय गरेको छ। विश्वविद्यालय बुधबार एक सूचना जारी गर्दै चैत ६ मा हुने भनिएका सबै परीक्षा यथावत् संचालन हुने स्पष्ट पारेको हो। '२०७६ चैत ६ गतेका दिन यथावत सञ्चालन हुनेछ,' त्रिविले जारी गरेको सूचनामा उल्लेख छ।
त्रिविले चैत ६ पछिका परीक्षाका सम्बन्धमा भने ६ गते नै निर्णय गर्ने जानकारी समेत दिएको छ। 'कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी क्याम्पस/कलेजका कक्षा सञ्चालन एवम् २०७६ चैत्र ७ गते पछिका परीक्षाहरु सञ्चालन सम्बन्धमा त्रिभुवन विश्वविद्यालयबाट २०७६ चैत्र ६ गते सूचना प्रकाशन गरिनेछ,' सूचनामा भनिएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले चैत मसान्तसम्म सबै पठनपाठन बन्द गरेको छ। चैत ६ देखि हुने एसइइसँगै चैतभित्र गरिने तय भएका सबै विश्वविद्यालय, सिटिइभिटी रर प्रतिष्ठानका परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय सरकारी समितिले गरेको थियो।
हाल सञ्चालनमा रहेका परीक्षाहरुको पनि बाँकी विषयको परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
यसैगरी यी सबै निकाय अन्तर्गतका कलेज, विद्यालय र बाल विकास केन्द्रको पठनपाठन समेत चैत मसान्तसम्मका लागि बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ। कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगिन सरकारले शैक्षिक संस्थाका सबै कार्यक्रम रोकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।