काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि बसेको सचिवालय बैठक सकिएको छ। बैठकमा कोरोना भाइरस नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय गरेको नेकपा महासचिव विष्णु पौडेलले बताए।
‘सरकारको तर्फबाट कोरोना भाइरस नियन्त्रण सम्बन्धमा के कस्तो काम भइसकेका छन् भन्ने सम्बन्धमा इश्वर पोखरेलले आफ्ना कुरा राख्नुभयो,’ पौडेलले भने, ‘सरकारले कोरोना नियन्त्रण गर्ने सम्बन्धमा गरेका प्रयासमा पार्टीको तर्फबाट थप सहयोगी र प्रभावकारी बनाउनुपर्ने निर्णय भयो।’ बैठकले कोरोना भाइरसबाट विश्वव्यापी रुपमा महामारीको रुप लिएकाले प्रभावकारी नियन्त्रणमा लाग्न सबैमा अपिल गरेको छ।
‘बैठकमा प्रधानमन्त्री ओलीको मिर्गौला सफल प्रत्यारोपणका सम्बन्धमा बधाई तथा स्वास्थ्य लाभको कामना गरियो।’ पौडेलले भने, ‘मिर्गौला प्रत्यारोपणमा सहयोग गर्ने चिकित्सक र स्वदेश तथा विदेशबाट स्वास्थ्य लाभ गर्नेप्रति बैठकले धन्यवाद ज्ञापन गर्यो।’ प्रधानमन्त्री ओली १९ फागुनमा अस्पताल भर्ना भएपछि २१ गते मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपण गरेको १२ दिनपछि चैत २ गते अस्पतालबाट डिस्चार्ज भएका थिए।
मंगलबार ओली प्रचण्डले एजेण्डाबारे छलफल गरेका थिए। नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले मंगलबार बेलुका सचिवालय बैठकमा राख्ने एजेण्डाका विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। बैठकमा विश्वभर फैलिएको कोरोना भाइरस र प्रधानमन्त्रीको स्वास्थ्य लाभका सम्बन्धमा सामान्य छलफल गर्नेमात्रै सहमति भएको थियो।
नेकपामा वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने र एमसिसीलाई संसदबाट अनमोदन गर्ने विषय लामो समयदेखि विवाद हुँदै आएको छ। त्यो विषयमा छलफल गर्न प्रधानमन्त्री सकारात्मक नदेखिएपछि तत्कालका लागि पछाडि धकेलिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।