काठमाडौं- सशस्त्र प्रहरी बल (एपिएफ) मा अनौठो बढुवा भएको छ। गत फागुन २० गते बढुवा समितिले रिक्त डिआइजीका लागि आवेदन माग गरेको थियो। तर कति संख्यामा डिआइजीको संख्या रिक्त रहेको हो भन्ने खुलाएको थिएन।
तर डिआइजीहरु चिरञ्जीवी अधिकारी र गोविन्द क्षेत्रीको अवकाशपछि सशस्त्रमा दुई जना डिआइजीको दरबन्दी रिक्त थियो।
त्यसका लागि एसएसपीहरु हरिशचन्द्र अधिकारी, अभिकुमार खत्री, शम्भु सुवेदी, राजेन्द्र शाक्य, राजेन्द्र अधिकारी र कुलबहादुर नेम्वाङ्ग गरी ६ जनाले आवेदन फारम बुझाएका थिए।
तर रिक्त दुई जनाको दरबन्दी हुँदाहुँदै बढुवा समितिले भने एसएसपी हरिशचन्द्र अधिकारीलाई मात्रै बढुवाका लागि सिफारिस गरेको छ। मंगलबार बसेको बढुवा समतिले अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको हो। सात दिनभित्र उजुरी नपरेको अवस्थामा अधिकारीलाई डिआइजीको फुली लगाउने बाटो खुल्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।