काठमाडौं- स्पेनिस क्लब स्पानियोलका ६ जना खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। खेल क्षेत्रमा कोरोना भाइरसको असर बढ्दै जाँदा युरोपियन लिगहरु ठप्प छन्। पछिल्लो समय देखिएका संक्रमणहरुले रोकिएको खेल सुरु हुने समय पछि धकेलिँदै गएको हो।
यसअघि स्पेनिस क्लब भ्यालेन्सियामा पनि खेलाडी र पदाधिकारीसहित ३५ प्रतिशतमा कोरोना संक्रमण देखिएको बताइएको थियो। अहिले स्पानियोलका खेलाडीमा पनि संक्रमण देखिएपछि स्पेनिस फुटबलमा डर थपिएको छ।
‘आज दिउँसो आएको रिपोर्टअनुसार स्पानियोलका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनीहरु सबैमा केही लक्षणहरु देखिएका थिए र जाँचपछि संक्रमण भेटिएको हो। उनीहरु सबै अहिले सुरक्षित बसिरहेका छन्’ स्पानियोललाई उल्लेख गर्दै स्पेनिस पत्रिका मार्काले लेखेको छ।
स्पानियोलले मार्च १३ पछि कुनै पनि खेल गतिविधि सञ्चालन गरेको छैन। सबै खेलाडीहरु घरमा नै सुरक्षित रुपमा बसिरहेका छन्।
स्पानियोलमा बाँकी खेलाडीमा संक्रमण छ कि छैन भन्ने बारे पनि जाँच चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।