काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले रघुपति जुट मिल र रिलायन्स स्पिनिङ मिलमा जोडिएको विद्युत लाइन काटेको छ। प्राधिकरणको प्रदेश नं १ कार्यालयअन्तर्गत बक्यौता राख्ने ती दुई कम्पनीमा जोडिएको लाइन काटिएको हो।
प्राधिकरणको प्रदेश नं १ का प्रमुख श्रीराम पाण्डेले रघुपति जुट मिलले साढे १५ करोड र रिलायन्स स्पिनिङ मिलले १ अर्ब ५० करोड रुपैयाँ बक्यौता नतिरेपछि लाइन काटिएको जानकारी दिए।
नेपाल विद्युत प्राधिकरणका तत्कालीन् कार्यकारी निर्देशक मुकेशराज काफ्लेको सिधा तोकमा रिलायन्समा डेडिकेटेड लाइन जोडिएको थियो। डेडिकेटेड लाइनमार्फत विद्युत उपभोग गरे पनि त्यसअनुसारको रकम तिर्न अस्वीकार गरेपछि बुधबार लाइन काटिएको हो।

जुट मिलले गत कात्तिसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो। प्रति किस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको उद्योगले पैसा नतिरेपछि लाइन काटिएको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए।
बक्यौता रकम नतिर्ने उद्योगको लाइन काट्न संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणलाई निर्देशन दिइसकेको छ। अहिले ५६ वटा उद्योगले डेडिकेटेड फिडर प्रयोगमार्फतको ९ अर्बभन्दा बढी रकम तिर्न बाँकी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।