काठमाडौं-कोरोना संक्रमणको कारण देखाउँदै मलेसियाले मार्च १८ देखि ३१ सम्मका लागि विदेशी नागरिकलाई प्रवेश प्रतिबन्ध लगाएसँगै हजारौं नेपाली प्रभावित बनेका छन्।
प्रतिबन्धपछि श्रम स्वीकृति लिएर मलेसिया जाने तयारीमा रहेका नेपाली पनि रोकिएका छन्।
मलेसियामा कार्यरत नेपालीहरु पनि बिना कारण मलेसियाले डिपोर्ट गर्ने हो कि भन्ने त्रासमा छन्। कतारमा सार्वजनिक स्थलमा यात्रा गरिरहेका केही नेपालीलाई बिना कारण पक्राउ गरिएको घटनाले मलेसियामा समेत नेपालीहरु डिपोर्ट हुने त्रास बढेको छ।
मलेसिया पेनाङस्थित सेक्युरिटी गार्डमा कार्यरत ओखलढुंगाका दयानाथ बस्नेत अहिले मलेसियामा कोरोनाको भन्दा डिपोर्टमा परिने हो कि भन्ने त्रासमा छन्।
‘मलेसियाले सार्वजनिक स्थलमा जथाभावी नहिड्न भनेको छ। जानकारी नभएर जथाभावी हिडेको अवस्थामा डिपोर्ट हुन सक्ने त्रास छ’ सामाजिक सञ्जालको सम्वादमा दयानाथले नेपाल लाईभसँग भने।
निषेधित क्षेत्रमा नजान र जम्मा तथा भेला नहुन दूतावासको आग्रह
मलेसियास्थित नेपाली दूतावासले नेपालीहरुलाई निषेधित क्षेत्रमा नजान सुझाएको छ। त्यस्तै भीडभाडमा नजान तथा भेला नहुनसमेत दूतावासले सजग गराएको छ। सो अवधिसम्म मलेसियाले शैक्षिक संस्था तथा सरकारी निकाय बन्द गर्ने निर्णय गरेको छ। सुपरमार्केट, औषधि पसल, अस्पताल, यातायात, प्रहरीलगायत अत्यावश्यक सेवा भने खुल्ला रहने छ।
अन्य मुलुकबाट मलेसिया प्रवेश गर्ने मलेसियाली नागरिक १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख छ।
कन्सुलर सेवा स्थगित
दूतावासले यो अवधिसम्मका लागि कन्सुलर सेवासमेत स्थगित गर्ने भएको छ। राहदानी नवीकरण, यात्रा अनुमति पत्र, प्रमाणीकरणलगायत कन्सुलर सेवा स्थगित गर्ने भएको हो।
तर अत्यावश्यक वा विशेष परिस्थितिमा यी सेवाहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने दूतावासले जनाएको छ। मागपत्र प्रमाणीकरणको काम भने अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको छ।
नेपाली कामदारहरुको प्रमुुख गन्तव्य मुलुक मलेसियामा ४ लाखभन्दा बढी नेपाली श्रमिकहरु रहेको अनुमान छ। फागुनमा मात्रै ८ हजारभन्दा बढी युवाहरु नयाँ श्रम स्वीकृतिमार्फत् रोजगारीको खोजीमा मलेसिया पुगेका थिए। कामदारको प्रमुख गन्तव्य मुलुक मलेसियाले प्रवेशमा तत्कालका लागि रोक लगाउँदा हजारौँ नेपाली प्रभावित बनेका हुन्।
बुधबार मध्यान्ह साढे १२ बजेसम्मको तथ्यांकअनुसार कोरोनाका कारण मलेसियामा २ जनाको मृत्यु भएको पुष्टि भएको छ। संक्रमितको संख्या ६ सय ७३ छ भने ४९ जना उपचारपछि सञ्चो भएर घर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।