राजविराज–उच्च अदालत जनकपुर, राजविराज इजलासले मंगलबार चिकित्सकहरुलाई सहभागी गराएर कोरोना भाइरसका विषयमा अन्तरक्रिया गरेको छ।
कोरोना भाईरस, यसको पहिचान, सर्ने प्रकृया र रोकथामका उपायका विषयमा जानकारी दिन गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिप साह र पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. अशोकानन्द मिश्रलाई बोलाईएको थियो।
डा. मिश्रले व्यक्तिगत तथा सामूहिक सचेतना अपनाउन सके यसबाट बँच्न सकिने बताए। हात धुन, रुघा खोकी तथा ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा जान र भीडभाड हुने स्थानमा नजान उनले सुझाए।
कोरोना भाईरसका कारण मानवीय क्षतिमात्र नभएर विश्व अर्थतन्त्रमा पनि ठूलो असर परेको बताएका उनले समस्या आएपछि आत्तिनुभन्दा समस्या आउनुअघि नै सचेत हुने उत्तम हुने बताए।
यसैगरी, डा. दिलिप साहले कोरोना भाईरस सर्ने तरिका र त्यसलाई निस्कृय बनाउन अपनाउनु पर्ने उपायका विषयमा जानकारी दिए। सकेसम्म एक–अर्कामा साढे तीन मिटरको दूरी बनाएर बस्न, सूर्यको प्रकाशलाई उपयोग गर्न, भिटामिन सी पाइने खानेकुरा खान, फलफूलको रस र पानी प्रसस्त पिउन र व्यक्तिगत प्रयोगका सामान अरुसँग साटासाट नगर्न उनले सुझाव दिए।
भाईरसको संक्रमण सुरु भए आवश्यकता अनुसारको तयारी र सामग्री अभाव रहेको संकेत गर्दै उनले व्यक्तिगत सचेतना नै भाईरस संक्रमणबाट बँच्ने प्रमुख उपाय भएको बताए। ‘आईसोलेसनका लागि हामीसँग जम्मा ४ वटा बेड छन्, अन्य आवश्यक सामग्री छैन,’ उनले भने, ‘आइसीयु व्यवस्था नहुँदा शंकास्पद बिरामी देखिए ढुक्क भएर उपचार गर्न पनि गाह्रो छ।’
अस्पतालमा मास्क र सेनिटाइजर समेतको अभाव रहेको उनले सुनाए ।
उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज इजलास तथा जिल्ला अदालत राजविराजका न्यायाधीश, कर्मचारी, कानुन व्यवसायीलगायतलाई सहभागी गराईएको थियो। कार्यक्रमपुर्व सहभागीहरुलाई हातधुने, ज्वरो नाप्ने व्यवस्था गरिएको थियो भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।