काठमाडौं- फागुन महिनामा वाणिज्य बैंकहरूको निक्षेप ७४ अर्ब रुपैयाँले बढेको छ। प्राइम कर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्दा समग्र वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएको हो। प्राइमले कैलाशको ३१ अर्ब रुपैयाँभन्दा माथिको निक्षेप प्राप्ती गरेको हुँदा फागुनमा वाणिज्य बैंकहरूको निक्षेपमा उल्लेख्य सुधार देखिएको नेपाल बैंकर्स एसोसिएसनले जानकारी दिएको हो।
वाणिज्य बैंकहरूले ३१ खर्ब ४० अर्ब रुपैयाँको निक्षेप संकलन गरेका छन्। निक्षेपमा सुधार आएसँगै वाणिज्य बैंकहरूले फागुन महिनामा मात्रै ५३ अर्ब रुपैयाँले थप कर्जा विस्तार गरेका हुन्।
कर्जा विस्तारको अंक बढ्नुमा पनि कैलाश विकास बैंकले सपोर्ट गरेको हो। प्राइमले कैलाश विकास बैंकको २७ अर्ब ५५ करोड रुपैयाँ कर्जा विस्तारको पोर्टफोलियो बढेको हो। यस अवधिमा बैंकहरुले २८ खर्ब तीन अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्।
पुस महिनामा ७ अर्ब रुपैयाँले निक्षेप सुधार भएको थियो। विदेशिने नेपालको संख्या घटिरहेको तथा विप्रेषण आप्रवाहमा कमी आएकाले वाणिज्य बैंकहरुको निक्षेपमा सुधार हुन नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
केही समयदेखि डलरको भाउ बढिरहेको छ। डलर बलियो हुँदै गर्दा नेपाली रुपैयाँको अवलम्बन हुँदा विदेशबाट भित्रिने रकमको बढेर आइरहेको ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए।
डलरको भाउ बढ्दा विदेशिएका नेपालीले साविकभन्दा धेरै रकम नेपाल पठाउन थालेको उनले जानकारी दिए। तर विश्वव्यापी रुपमा कोरोनाको प्रभाव बढ्दै गर्दा आगामी दिनमा भने रेमिट्यान्स भित्रिने क्रम भने घट्ने उनको विश्लेषण छ।
यसै अवधिमा नेपाल सरकाले पुँजीगत खर्च तथा केही विकास खर्च बढाइरहेको छ। यसले थोरै मात्रामा बैंकिङ निक्षेप सुधार गर्न मद्दत गरेको हो।
साउनयता वाणिज्य बैंकहरुले दुई खर्ब ८५ अर्ब रुपैयाँले निक्षेप सुधार गरेका छन्। त्यस्तै कर्जा विस्तार भने दुई खर्ब ९६ अर्ब रुपैयाँले बढाएका छन्। यस अवधिमा बैंकहरु निक्षेपमा सुधार गर्ने भन्दा पनि कर्जा विस्तारमा आक्रमक देखिएका हुन्।
कोरोना भाइरसको सन्त्रासले बैंकहरुमा निक्षेप तथा कर्जा विस्तार घट्न थालेको छ। कोरोनाको प्रभावले निक्षेपमा सुधार नहुँदै गर्दा कर्जाको विस्तारमा सोहि अनुपातमा रोकिने भएकाले ठुलो समस्या नहुने बैंकिर एसोसिएनका अध्यक्ष भुवन कुमार दाहालले बताए।
निक्षेपमा सुधार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।