काठमाडौं- यातायात व्यवस्था विभागले कोरोना भाइरस (कोभिड-१९) देखिएमा सार्वजनिक यातायातमा पर्न सक्ने प्रभावबारे छलफल गर्न सरोकारवालालाई बोलाएको छ। विभागले बुधबारका लागि सरोकारवालासँग छलफल गर्ने भएको हो।
विभागले यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ता अधिकारकर्मीलगायतलाई बोलाएर बुधबार छलफल गर्न लागेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए। ‘कोरोना भाइरस नेपालमा देखिइनसकेको भएपनि उच्च जोखिममा रहेको छ,’ उनले भने, ‘सार्वजनिक यातायात कोरोना देखिएको खण्डमा सबैभन्दा छिटो संक्रमण बढ्ने क्षेत्र भएकाले के गर्न सकिन्छ भनेर सरोकारवालासँग छलफल गर्न लागिएको हो।’
कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण गर्न विभिन्न यातायात व्यवसायी कम्पनी तथा साझा यातायातले स्यानिटाइजर छर्किएर सवारी गुडाउन थालेका छन्। त्यस्तै विद्युतीय सवारी सञ्चालन गरिरहेको सुन्दर यातायातले यात्रुलाई बसमा चढ्नुपूर्व ज्वरो नाप्ने व्यवस्था मिलाएको छ। विभागले यी कुराहरु समेट्ने र कोरोना भाइरस देखिएको अवस्थामा के कस्ता उपाय अपनाउन सकिन्छ र कुन कुन सवारीलाई चलाउने र कुनलाई रोक्ने भन्ने विषयमा समेत छलफल गर्ने योजना बनाएको छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विभाग मार्फत कोरोना भाइरसको रोकथामका लागि अपनाउनुपर्ने चेतनामुलक सामाग्री बनाइरहेको छ। यातायात व्यवसायीहरुले स्वास्थ्य विभागसँगको समन्वयमा सचेतना जगाउने प्रचारप्रसारका सामाग्री सवारीसाधनमा राख्न थालिसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।
व्यवसायीहरुले आफैंले सार्वजनिक बसमा कोरोना संक्रमणको जोखिम कम गर्न सकिने उपायहरु अपनाइरहेको उनको भनाइ छ। विभागले सरोकारवालासँग छलफल गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समेत विमर्ष गर्नेछ। तत्कालै सार्वजनिक यातायात बन्द गर्ने अवस्था पनि नआएको र कोरोना भाइरस देखिएको अवस्थामा पनि सबै यातायातका साधन बन्द गर्न नमिल्ने हुन सक्ने महानिर्देशक हमाल बताउँछन्।
सार्वजनिक यातायात उच्च जोखिमको क्षेत्र भएकाले यात्रुहरु पनि बस चढ्दा आफ्नोतर्फबाट सचेत हुने जरुरी रहेको उनको भनाइ छ। बुधबार सरोकारवालासँगको छलफलपछि केही निष्कर्ष आउने र त्यहीअनुसार आवश्यक तयारीमा जुट्ने हमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।