काठमाडौं- टिप्परको ठक्करबाट घाइते भएका पैदलयात्री आमाछोरीको उपचारका क्रममा मृत्यु भएको छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार अपराह्न टिप्परको ठक्करबाट घाइते भएका आमाछोरीकै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।
मृत्यु हुनेमा काभ्रेको खानीखोला गाउँपालिका-१ बस्ने वर्ष २६ की जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका छन्। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिई उनीहरुलाई घाइते बनाएको थियो। उनीहरू दुवैको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते बनेका आमाछोरीकै मृत्युभएपछि आक्रोशित भिडले ढुंगामुढा गरेको थियो। यसपछि प्रहरीले भिड नियन्त्रणमा लिन २ राउन्ड हवाई फायर खोल्यो। यसका साथै ५ राउन्ड अश्रुग्यास प्रहारसमेत गरेको प्रहरीले जनाएको छ।
'प्रहरीले भिडलाई नियन्त्रणमा लिन २ राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो,' इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले भने। भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच प्रहरी घाइते भएको समेत उनले जानकारी दिए। घाइतेमध्ये प्रहरी हबल्दार दिलीप बुढाथोकीको अवस्था गम्भीर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।