एजेन्सी- साइप्रस सरकारले कोरोना भाइरस रोक्न ७ सय मिलियन यूरोको विशेष प्याकेज घोषणा गरेको छ। राष्ट्रपति निकोस अनोस अनास्टसियाडेसले कोरोना संक्रमणबाट देशलाई बचाउन यस्तो प्याकेजको घोषणा गरेका हुन्।
नेपालीहरुको श्रम गन्तव्य रहेको यो देशमा प्रवेश गर्नेहरुलाई नयाँ नियम पनि लागू गरेको हो। साइप्रस रोजगारीमा आउने व्यक्तिले आफ्नो देशबाट कोरोना टेष्ट गरी नेगेटिभ भएको मेडिकल प्रमाणपत्र पेश गनुपर्नेछ।
यो नियम १६ मार्चदेखि लागू हुनेछ। त्यस्तै यसरी पेश भएको व्यक्ति साइप्रसमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य गरिएको छ। यी शर्त मान्न तयार नभएको व्यक्तिलाई प्रवेश नदिइने जनाइएको छ।
छुट्टीबाट फर्किनेले पनि रिर्पोट बुझाउनुपर्ने
साइप्रसबाट छुट्टीमा आएका नेपालीहरुले पनि कोरोना टेष्ट गराएर नेगेटिभ रिजल्ट भएको मेडिकल रिपोर्ट देखाउनुपर्ने र १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। सरकारको यो प्रक्रियाले नेपालीलाई थप झन्झट थपिने त्यहाँ कार्यरत रहेका नेपालीहरुले जनाएका छन्।
साइप्रस सरकारले अहिले सबै प्राइभेट कम्पनीहरु सञ्चालनमा रोक लगाएको छ। सरकारले घोषणा गरेको प्याकेज नेपालीहरुले पनि पाउनेछन्। नीजि क्षेत्रमा काम गर्ने कामदारको जागिर गुम्ने खतराबाट बचाउन यो प्याकेज अनुमोदन गरिएको प्रधानमन्त्रीले जनाएका छन्। यो प्याकेज रकम जिडिपीको ३ प्रतिशत रकम हो।
सार्वजनिक स्वास्थ्य सेवाका लागि भने अलग्गै १ सय मिलियन यूरो विनियोजन गरिएको राष्ट्रपतिले जनाएका छन्। सरकारले मास्क र सेनेटाइजरको कालो बजारी रोक्न विशेष सतर्कता अपनाउँदै कालोबजारी गर्नेमाथि कडा निगरानी राख्न भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।