काठमाडौं- ग्यास व्यवसायीहरूले खाना पकाउने सिलिन्डरको अभाव नहुने भन्दै अतिरिक्त सिलिन्डर खरिद नगर्न उपभोक्तासँग आग्रह गरेका छन्। सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघ नेपालले संयुक्त पत्रकार सम्मेलन गर्दै खाना पकाउने ग्यास सिलिन्डरको अभाव नहुने भन्दै संयमता अपनाउन भनेका हुन्।
अहिले ग्यासको माग र आपूर्ति सन्तुलित रूपमा भइरहेको उनीहरूको भनाइ छ। ‘कोरोना भाइरसको असर नेपालमा पनि पर्न सक्ने त्रासले उपभोक्ताहरू त्रसित भई ग्यास अभाव हुने डरले आफूसँग रहेका सबै खाली सिलिन्डरहरूमा ग्यास भर्न विक्रेताकोमा आएकोले एक्कासी ग्यासको माग बढ्न गई बिक्री वितरणमा केही समस्या हुन गएको देखिन्छ,’ व्यवसायीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
ग्यासको आयात विगतभन्दा हालको अवस्थामा केही बढि नै रहेकोले सम्पूर्ण उपभोक्ताहरूमा धैर्य धारण गरिदिन पनि व्यवसायीहरूले आग्रह गरेका छन्।
साथै ग्यास बिक्री वितरणको क्रममा उपभोक्तासँग घरमा भएको खाली सिलिन्डरलाई मात्र ग्यास दिने र नयाँ सिलिन्डर (ग्यास सहितको सिलिन्डर) बिक्री वितरण नगर्न-नगराउन पनि सबै ग्यास व्यापारीलाई सूचित गरिएको एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।