काठमाडौं–वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकाका विभिन्न ग्यास पसलमा गरेको अनुगमनका क्रममा व्यापारीसँग ग्यास मौज्दात नरहेको देखिएको छ। शनिबार र आईतबार गरी उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा ग्याँस पसलमा नै भरिएका ग्यास नरहेको देखिएको हो।
विभागले शनिबार ४ वटा ग्यास पसलमा अनुगमन गरेको थियो। सुविधानगरको लाकौल स्टोर र दिव्यांसु स्टोर, कोटेश्वरको सरिता स्टोर र ललितपुर कुसुन्तीका सुवेदी ग्यास पसल र लामिछाने फुड ट्रेडर्समा अनुगमन भएको थियो। विभागका अनुसार लाकौल स्टोरमा सिद्धार्थ ग्यास १५ सिलिण्डर मौज्दात रहेको भए पनि हिमाल ग्यास १ महिनादेखि नभएको भेटिएको छ।
त्यस्तै दिव्यांसु स्टोर र सरिता स्टोर्समा वस्तुको खरिद बिल नभेटिएको र ती पसलमा ग्यास मौज्दात पनि नरहेको विभागले जनाएको छ। शनिबारको अनुगमनका क्रममा विभागको टोलीले सुवेदी ग्यास पसल र लामिछाने फुड ट्रेडर्समा ८–८ वटा सिलिण्डर ग्यास मात्रै भेटाएको थियो।
त्यस्तै आइतबार पनि विभागले ५ वटा पसलमा अनुगमन गरेको छ। विभागले आइतबारसमेत कुनै पनि पसलमा मौज्दात ग्यास रहेको भेटाएन। कीर्तिपुरको बालकुमारी भाडा पसल, किचेन ट्रेडर्स, मानन्धर किचेन वेयर, रोहन एण्ड तिसा स्टोर्स र कपनको मेलम्ची ग्याँसमा विभागले अनुगमन गरेको थियो।
अनुगमनका क्रममा बालकुमारी भाडा पसलमा एभरेस्ट ग्यास, किचन ट्रेडर्समा लुम्बिनी ग्यास, मानन्धर किचेनमा श्रीकृष्ण ग्यास, रोहन एण्ड तिसा स्टोर्समा सुविधा र सुगम ग्यास मौज्दात नभएको देखिएको छ। ग्यास वितरण सहज नहुँदा पसलमा सुरक्षा आवश्यक रहेको भन्ने गुनासोसमेत व्यापारीले गरेको विभागले जनाएको छ। मेलम्ची ग्यास सेन्टरमा मौज्दात ग्यासलाइ पालो मिलाएर वितरण गर्न विभागले निर्देशन दिएको छ।
बजारमा खाना पकाउने ग्यासको अभाव रहेको भन्ने गुनासो सुनिन थाले पनि नेपाल आयल निगमले भने पहिलेको तुलनामा बढी आयात भइरहेको जनाएको छ। केही दिनअघिसम्म नेपाल ग्यासमा केही समस्या देखिएको भए पनि अहिले भने कुनै पनि ग्यासको ढुवानी र वितरणमा समस्या नरहेको निगमको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।