काठमाडौं–‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता र उपभोगमा विवेकशीलता’ मुल नाराका साथ आईतबार विश्व उपभोक्ता अधिकार दिवस मनाइयो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पनि विभिन्न कार्यक्रम गरेर निकै तामझामका साथ यो दिवस मनायो। कार्यक्रममा मन्त्री, सचिव, विभागका महानिर्देशक, पूर्व महानिर्देशक, उपभोक्ता अधिकारीकर्मीले निकै कडा भाषण गरे उपभोक्ता अधिकारका विषयमा। तर यही बेला बजारको अवस्था भने भिन्न छ। बजारमा कोरोना कहर कायमै छ। वस्तु अभाव र मुल्यवृद्धिको त्रास उपभोक्तामा छ।
दिवसका सन्दर्भमा विभागद्वारा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारको अवस्था बुझ्न आफैं निस्किन थालेको बताए। ‘हिजोमात्रै पोखराको पसलमा गएर सामान किनेँ। अरु संयन्त्रमार्फत् बजारको अवस्थाबारे जानकारी लिईरहेका छौं। म ट्याक्सी चढ्दा मिटरमा जाने कि नजाने भनेर सोध्छु। हरेक उपभोक्ता सचेत हुन जरुरी छ,’ उनले भने।
सामान्य परिस्थितिमा पनि अव्यवस्थित देखिने बजारलाई अहिलेको जस्तो असामान्य र असहज परिस्थितिमा व्यवस्थित गर्नु निकै चुनौतीपूर्ण रहेको मन्त्री भट्टको भनाई छ। ‘यति बेला कुनै पनि कर्मचारी, मन्त्रीले सुख पाउँदैनन्। हामी खटिनुपर्छ र बजार व्यवस्थित गर्नुपर्छ,’ उनले भने।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु बैकुण्ठ अर्याल र चन्द्र घिमिरेले पनि बजार व्यवस्थित गर्न उपभोक्ता सचेत र विवेकशील हुनुपर्ने धारणा राखे। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागको स्रोत साधनले भ्याएसम्म अनुगमन प्रभावकारी रुपमा अघि बढाउन लागिपरेको बताए।
यसरी एकातिर कर्णप्रिय भाषण चलिरहँदा बजारमा भने कोरोना भाइरसको सन्त्रासका कारण अहिले नै केही वस्तुहरुको बजार अभाव देखिन थालेको छ। माक्स, सेनिटाइजरजस्ता मेडिकल सामग्रीको माग बढेपछि ती वस्तुहरुको अभाव सँगसँगै मूल्यवृद्धि र कालोबजारी पनि हुन थालेको छ। मेडिकल सामग्रीहरु मात्र नभई इन्धन, खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धिको समस्या झेल्नुपर्ने हो कि भन्ने आशंका आम मानिसमा देखिन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।