एजेन्सी- चिनियाँ विद्युतीय सवारी उत्पादक बिवाइडीले कोरोना भाइरसबाट जोगिन दैनिक ५० लाख थान मास्क उत्पादन गरिरहेको छ। कोरोना भाइरसको उत्पत्ति स्थल चीनमा कम्पनीले दैनिक रूपमा उक्त संख्यामा मास्क उत्पादन गरिरहेको शुक्रबार जनाएको अटोमोटिभ्स डटकमले लेखेको छ।
चीनमा कोरोना भाइरसका कारण हालसम्म ३२ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको फैलावटलाई महामारी घोषणा गरिसकेको छ।
बिवाइडीले जनावरीको अन्त्यदेखि नै मास्क उत्पादन गर्दै आएकोमा पछिल्लो समय उत्पादन बढाएको विज्ञप्तिमार्फत जनाएको छ। अमेरिकी धनाढ्य वारेन बफेटको लगानी रहेको बिवाइडीले हाल दैनिक करिब ३ लाख बोटल ह्यान्ड स्यानिटाइजर समेत उत्पादन गरिरहेको छ।
विद्युतीय सवारीका साथै ब्याट्री समेत उत्पादन गर्दै आएको बिवाइडीले आफ्ना कामदारका साथै उत्पादित मास्क हुवेइमा पठाइएको जनाएको छ। हुवेइ कोरोनाको उद्गमस्थल हो। उक्त मास्क अस्पतालका साथै सार्वजनिक यातायातमा समेत उपलब्ध गराइएको छ।
कोरोनाका कारण विश्वभर १ लाख ३५ हजारभन्दा बढी मानिसलाई संक्रमण भएको र ५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
चीनमा अन्य विभिन्न कम्पनीहरूले समेत मास्क तथा ह्यान्ड स्यानिटाइजर उत्पादन गरिरहेका छन्। चीनले कोरोना नियन्त्रण उन्मुख रहेको घोषणा गरेपनि विश्वभर तीव्र रुपमा फैलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।