काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका तथा उल्लेखनीय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवान समेत ७४ अधिकृत तथा जवानहरूलाई तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको छ।
प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्य गरिएको हो। आचरण व्यवहार सुधारको हिसाबले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूका लागि महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारत्मक तालिम समेत संचालन गरिनेछ।
यसपछि अब इन्टेलिजेन्ट ग्रुपमा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारीभित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने कुरा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए।
साथै अब सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलत: प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने समेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।