काठमाडौं- नेपाल स्टक एक्सचेन्जले सेयर कारोबारको समयावधि बढाएको छ। अहिले दैनिक ४ घण्टा सेयर किनबेच भइरहेकोमा त्यसलाई ५ घण्टा बनाउने निर्णय भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
नेप्सेले नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार भन्दै चैत २ गते आइतबारबाट सेयर कारोबार बिहान ११ बजेदेखि ४ बजेसम्म (कूल ५ घण्टा) गर्ने निर्णय गरेको हो। नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको छ।
नेप्सेका अनुसार अब आइतबारदेखि बिहीबारसम्म कार्यालय खुलेको दिनमा कारोबारको प्रारम्भिक कारोबार समय बिहान १०:३० बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ। बोलकबोल र निरन्तर कारोबार समय ११ बजेदेखि ४ बजेसम्म र अन्तिम कारोबार ४ बजेदेखि ४ बजेर ५ मिनेसम्मका लागि तोकिएको नेप्सेले जनाएको छ।
लगानीकर्ताहरुले भने पूर्ण तयारीबिना कारोबार अवधि बढाउन नहुने बताउँदै आएका थिए। राफसाफ प्रणाली डिजिटल नभई कारोबार अवधि बढाउन नहुने उनीहरुको तर्क थियो।
सेयर कारोबार दैनिक ३ घण्टा हुने गरेकोमा नेप्सेले करिब ४ वर्ष अगाडि एक घण्टा कारोबार अवधि बढाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।