काठमाडौं- नेपाली कांग्रेसका अनुशासन समितिका सदस्य धनराज गुरुङले पार्टीको नीति उल्लंघन गर्नेलाई प्रमाणका आधारमा अनुशासन समितिले कारबाही गर्ने बताएका छन्।
अनुशासन समितिले गर्ने कारबाहीमा संस्थापन पक्ष हाबी हुँदै गएपछि समिति सदस्य गुरुङले नेतृत्वको निर्देशनमा कसैलाई कारबाही वा उन्मुक्ति दिने कार्य नहुने प्रष्टाएका छन्। ट्विटरमा गुरुङ लेख्छन्, ‘अनुशासन समितिको आफ्नै कार्यविधि र न्याय सम्पादन गर्ने पद्धति छ। प्रमाणले जे बोल्छ, त्यही गरिन्छ।’
पार्टी नेताले दिएको मौखिक निर्देशन कारबाहीका लागि प्रमाण नहुने उनले स्पष्ट पारेका छन्। प्रमाणलाई आधार नमान्ने भए केन्द्रीय समिति बैठकले आममाफीको निर्णय गर्न उनले सुझाव दिएका छन्।
पार्टी नीति उल्लंघन गरेको भेटिए समितिका सबै सदस्यले सर्वसहमतिमा कारबाहीको सिफारिस गर्नुपर्ने विधि तय गरिएको छ। पाँच सदस्यीय समितिमा गुरुङले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको प्रतिनिधित्व गरेका छन्। नेता कृष्णप्रसाद सिटौलापक्षका समिति सदस्य उमाकान्त चौधरीले राजीनामा दिएपनि स्वीकृति भने भएको छैन।
समितिको संयोजकमा सभापति शेरबहादुर देउवानिकट भीष्मराज आङदेम्बे छन्। देउवानिकटकै देवेन्द्रराज पाण्डेय र किशोरसिंह राठोर पनि समिति सदस्य छन्। पाण्डेय र राठोरका विरुद्धमा समेत अनुशासनको कारबाहीको माग गरी केन्द्रीय कार्यालयमा उजुरी परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।