काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले उडान कटौती गर्ने सूचना जारी गरेको छ। एयरलाइन्सले कोरोना भाइरस (कोभिड १९) का कारण यात्रु संख्यामा कमी आएको भन्दै उडान कटौती गर्ने निर्णय गरेको हो।
जसअनुसार दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं- दिल्ली-काठमाडौं उडान मार्च १५ देखि लागू हुने गरी एउटामात्र गर्ने निगमले जनाएको छ।
अब नेपाल एयरलाइन्सले बिहानको उडान नियमित राख्ने र साँझको उडान भने कटौती गर्ने निर्णय गरेको हो। यसैगरी बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्चदेखि १५ अप्रिलसम्मका लागि स्थगित गरिएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनकारी गराएको छ।
यसैगरी एयरलाइन्सले बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान समेत रद्द गरेको छ। काठमाडौं- दोहाको उडान फागुन २७ गतेदेखि नै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकिएको छ।
उपरोक्त उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने र भनेको उडान मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने एयरलाइन्सले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।