काठमाडौं–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी नेतृत्वबाट काठमाडौं फर्कन निर्देशन नआएको स्पष्ट पारेका छन्।
कोइराला पूर्व निर्धारित कार्यक्रम अनुसार गोरखाको कार्यक्रममा सहभागी भइरहेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको पूर्व सचेतताका लागि पार्टीको कार्यक्रम स्थगित गरिएको जनाउँदै राजधानी फर्कन दबाब दिएको समाचार आएपछि डा. कोइरालाले प्रष्ट्याएका हुन्।
प्रवक्ता विश्वप्रकाश शर्माले डा. कोइरालासँग फोनमा गरेको कुराकानीबारे कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘तपाईं चिकित्सकसमेत भएकाले जिल्लाका साथीहरुलाई कोरोना भाइरसबाट बच्ने उपायहरु पनि बताइदिनुहोला भन्नुभएको हो।’
गोरखाअघि सिरहा र धनुषा पुगेका नेता कोइरालाले त्यहाँका कार्यक्रममा समेत कोरोनाको संक्रमणबाट बच्ने उपाय कार्यकर्तामाझ राखेका थपलियाले जानकारी दिए। कोइरालाले पार्टीको कुराभन्दा कोरोना संक्रमणबाट बच्न पूर्व सचेतता गराएको थपलियाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।