काठमाडौं- कार्यक्रम थियो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयूक्त) एकीकरण घोषणाको। राष्ट्रिय सभागृहको हल खचाखच थियो। ४ दिन अगाडि राप्रपा र राप्रा संयुक्तबीच एकताको सहमति भइसकेको थियो। बुधबारको कार्यक्रम पार्टी नेता र कार्यकर्ताबीच त्यही सहमति सार्वजनिक गर्न आयोजना गरिएको थियो।
तर दुवै पार्टी एक भएको घोषणा गर्न आयोजित कार्यक्रममा सहभागीहरूले नै एकताको आयुमाथि शंका गरे। नेताहरुले अब हामी फुट्दैनै त भने तर कार्यकर्ताले पत्याइदिएनन्।
कार्यक्रम शुरु भए लगत्तै एक हुल कार्यकर्ता मञ्चमै पुगेर नेताहरुलाई 'गीता छोएर पार्टी फुटाउँदैनौं' भन्ने प्रतिज्ञा गर्नुस् अनी मात्र विश्वास गर्छै भनेका थिए। उनीहरू ब्राह्मणलाई गीता बोकाएर दलबलसहित कमल थापा, पशुपति शम्सेर राणा र प्रकाशचन्द्र लोहनीलाई त्यही गीता छोएर कसम खान भनिरहेका थिए। नेताहरू भने के गर्ने? के नगर्ने? दोधारमा देखिए।
राप्रपाका अध्यक्ष थापाले मञ्चबाटै प्रतिवाद गरेपछि प्रहरीले हुललाई मञ्चबाट दर्शकदिर्घातिर झार्यो। तर हुटिङ रोकिएन। हलमा गीता छोएर कसम खान भनिरहे। कार्यक्रम सञ्चालक प्रदेश सांसद रिणा गुरुङले शान्त पार्न पटकपटक प्रयास गरिन्।
बल्लबल्ल हल शान्त त भयो तर कसम खाने कुरा उठ्न छाडेन। कमल थापा बोल्ने पालो आएपछि फेरि कसम खाने कुरा उठेपछि थापाले भाषण टुंग्याउनेक्रममा गोजीबाट सानो गीताको किताब निकाल्दै पार्टी कार्यकर्तातिर देखाउँदै अब पार्टी नफोर्ने प्रतिज्ञा गरे। उनले त्यो गीता पोडिएममा छोडेर गए। थापापछि आएका राणा अनी लोहनीले पनि थापाले छाडेको त्यही गीता छोएर पार्टी नफुटाउने प्रतिज्ञा गरे। हलका कार्यकर्ताहरूले ताली पिटेर खुसी व्यक्त गरे।
गीता छोएर कसम त खाए। तर कसम पूरा गर्न त्यति सजिलो भने देखिन्न।
राप्रपाको एउटा इतिहास बोकेका सूर्यबहादुर थापाका सन्तान कार्यक्रममै देखिएनन्। उता कार्यक्रम चलिरहँदा थापाका छोरा सुनिलले राणासँगको एकतामा आफू सहमत नरहेको सार्वजनिक गर्दै नेपाली कांग्रेस प्रवेश गर्ने संकेत गरे। केशरबहादुर विष्ट समूह पनि कार्यक्रममा देखिएका थिएनन्।
यो पनि पढ्नुहोस्
चुनावले सिकाएको पाठ
राप्रपाको इतिहासै टुटफुटबाट शुरु भएको देखिन्छ। २०४६ को राजनीतिक परिवर्तनसँगै पञ्चायती राजनीतिको पृष्ठभूमी भएकाहरू छुट्टाछुट्टै दलमा आबद्ध थिए। २०४७ जेठ १५ मा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले छुट्टाछुट्टै दल दर्ता गरेका थिए। अहिलेसम्म राप्रपा ५ पटक विभाजित भइसक्यो। त्यसैले पनि बुधबारको एकता कार्यक्रममा आफ्नै कार्यकर्ताले पार्टी फेरि फुट्ने शंका गरेका थिए।
दोस्रो संविधानसभा निर्वाचन ०७० मा नराम्रोसँग हार व्यहोरेपछि ६ मंसिर ०७३ मा राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा भएको थियो। लगत्तै ६ फागुनमा एकता महाधिवेशनबाट अध्यक्षमा कमल थापा अध्यक्ष चुनिए।
सरकारमा जाने वा नजाने विषयमा विवाद शुरु भयो र एक भएको वर्ष दिन नपुग्दै राप्रपा तीन चिरामा विभाजित भएको थियो। विभाजित रुपमा २०७४ को संसदीय निर्वाचनमा होमिएका तीन वटै राप्रपाको हालत कमजोर भयो। शीर्ष नेता कसैले जितेनन्। राप्रपाले एक सांसद पायो त्यो पनि एमालेको साथले। राणा र लोहनीको पार्टीले एक सिट पनि जितेनन्।
राष्ट्रिय पार्टीको मान्यता जोगिएन। तीनै दलले पाएको मत जोड्दा राष्ट्रिय दलको मान्यता पाउन चाहिने ३ प्रतिशत पुग्थ्यो। निवार्चनमा पराजित भएपछि थापाले नै पार्टी एकताको प्रयास शुरु गरेका थिए। जुन बुधबार पूरा भयो।
कसले गरायो एकता
एकाएक राप्रपा एक हुँदा कुन शक्तिले काम गर्यो भन्ने चर्चा जारी नै छ। कतिले यसमा पूर्व राजा ज्ञानेन्द्र शाहको भूमिका देख्छन्। कतिले भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीको प्रभाव देख्छन्। तर नेताहरु यो स्वीकार गर्दैनन्।
कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष थापाले राप्रपा र राप्रपा(संयूक्त)बीचको एकता बाहिर भनिए जस्तै कुनै देशी/विदेशी शक्तिको दबाबमा नभई पार्टीलाई माया गर्ने कार्यकर्ता सहयोगी शुभचिन्तकहरूको दबाब र प्रेरणाले भएको दाबी गरे।
विगमा पार्टी फुट्दाको पीडा शब्दमा व्यक्त गर्न नसकिने भन्दै थापाले झिनामसिना कुरामा नअल्झी नयाँ संकल्प लिएर अघि बढ्नुपर्ने बताए। उनले पार्टीका नेता कार्यकर्तालाई विगतका सबै आग्रह/पूर्वाग्रह बिर्सेर एकताबद्ध हुन आह्वान गर्दै भने 'विगतका आग्रह/पूर्वाग्रहपूर्ण व्यवहार त्यागौं। कहाँ को बोल्ने? कहाँ बस्ने? जस्ता झिनामसिनामा नलागौं। एक अर्काप्रति सम्मान गर्दै सामूहिक नेतृत्वको भावनामा दृढताका साथ अघि बढै। लोहनीले लामो प्रयासबाट एकता भएकाले यो एकता दीर्घकालसम्म रहने दाबी गरे।
तीनै अध्यक्षको पदबहाली बिहीबार
राप्रपाका तीनै अध्यक्षले बिहीबार एक बजे पदबहाली गर्दै छन्। तत्कालीन राप्रपा(संयूक्त)को केन्द्रीय कार्यालय चाबहिलमा अध्यक्षत्रय थापा, राणा र लोहनीले पदबहाली गर्ने नेता मोहन श्रेष्ठले बताए।
‘आज एकता घोषणा सभा भयो। भोलि एक बजे तीनै जना पार्टी अध्यक्ष केन्द्रीय कार्यालयमा जानुहुन्छ,’ श्रेष्ठले भने, ‘तीनै जना अध्यक्षले आ–आफ्नो कार्यकक्षमा पदभार गर्नु हुनेछ।’ धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालय साँघुरो भएकाले तत्कालीन राप्रपा (संयुक्त)को पार्टी कार्यालयलाई नै केन्द्रीय कार्यालय बनाइने भएको छ।
महाधिवेशन डेढ वर्षपछि
एकीकृत पार्टीको महाधिवेशन आगामी डेढ वर्षभित्रै गर्ने सहमति छ। पार्टीमा केन्द्रीय समिति र पदाधिकारी संख्या निर्धारण गर्न एकता अघिका दुवै पार्टीका तर्फबाट तीन/तीन जना हुने गरी समिति गठन गरिएको छ।
समितिमा थापा समूहबाट दीपक बोहरा, बुद्धिमान तामाङ र भास्कर भद्रा छन्। राणा-लोहनी समूहबाट भने विक्रम पाण्डे, श्याम तिमल्सिना र ठाकुर शर्मा छन्। सो समितिले सिफारिस गरेका नेताहरूलाई नै अध्यक्षत्रयले केन्द्रीय सदस्य र पदाधिकारी तोक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।