आज म कोरोना भाइरसभन्दा अरु नै विषयमा लेख्ने योजनामा थिएँ, तर यस्तो गर्नु बेइमानी हुन्छ भन्ने ठानेँ । किनकि, तपाईंहरुजस्तै मैले पनि आफूलाई हतोत्साहीत बनाउने गरि फैलिरहेको डरलाग्दो महामारीमै केन्द्रित बनाएँ।
जीवनका ५० वर्षमा मैले कहिल्यै पनि यस्तो अनुभव गर्न पाएको थिइनँ। एभियन फ्लू, स्वाइन फ्लू, इबोला, जिका यी कुनैले पनि विश्वको दैनिकी भंग गरिदिएको थिएन, जुन कोभिड–१९ले गरिसकेको छ।
सार्वजनिक कार्यक्रमहरु जस्तो अस्टिन (टेक्सास) को ‘साउथ बाइ साउथवेस्ट’ फिल्म फेस्टिभल, क्यालिफोर्नियाको इन्डियन वेल्स खेल र टेनिस प्रतियोगिता रद्ध भए । इटालीका सबै जनता बन्धकजस्तै बनेका छन्। अन्त्येष्टि, चर्चका कार्यक्रमसहितका सार्वजनिक भेलामा प्रतिबन्ध लगाइएको छ। के यस्तै अवस्था अमेरिकामा आउला?
शेयर बजार घट्दो छ । सोमबार शेयर बजारमा भारी गिरावट आयो, जसले निकै ठूलो तहमा रोजगारी गुम्ने खतरा बढाएको छ। केवल मैले मेरा परिवार, साथी र सहपाठीहरु स्वस्थ होलान् भन्ने आसा गरेको छु । मेरी श्रीमती र बच्चा तुलनात्मक रुपमा कलिला छन्, त्यसैले हामी बाँच्नै पर्छ। तर, अति उच्च जोखिम समूहमा पर्ने मेरा अभिभावक छन्, त्यसैले यो चिन्ताजनक हो।
म कोरोना भाइरस संक्रमित धेरै (१४२ जना पाइएको र बढ्ने क्रम जारी) पाइएको न्यूयोर्कमा बस्छु । एउटा साथीलाई हालसालै फ्लूजस्तै लक्षण देखियो। मेरो छोराले सधैं बास्केटबल खेल्ने साथीलाई अहिले १ सय ४ डिग्री ज्वरो आएको छ। के उनीहरु कोरोना भाइरसबाट पीडित छन्? कसैलाई पनि थाहा छैन, किनकि कसैले पनि यसलाई परीक्षण गर्न सक्दैन।
५ करोडभन्दा बढी जनसंख्या भएको कोरियाले यसअघि नै १ लाख ९६ हजारमा कोरोना भाइरस परीक्षण गरिसकेको छ। ३३ करोड जनसंख्या भएको अमेरिकामा आइतबार केवल १८९५ जनाको मात्रै परीक्षण गर्न सकिएको पुष्टि भयो।
घरबाट निस्कँदा म हरेकपटक आफूलाई मानसिक रुपमा विचलित पाउँछु। प्रत्येक सब–वे, रेष्टुरेन्ट, स्टोर अहिलेसम्म नसोचिएका स–साना खतराले भरिपूर्ण छन् ।
म मेरो ढोकादेखि नै होसियार भएको छु। ढोका खोल्न या त धक्का दिन्छु या रुमालले हात छोप्छु। विशेषगरी न्यूयोर्क क्षेत्रको विमानस्थल सञ्चालन गर्ने अधिकारीहरुलाई नै कोरोना भाइरस लागेपछि शनिबार लामो–लामो छुट्टीमा निस्कुँ कि ननिस्कुँ? कैयौं घण्टा हवाइजहाजमा अड्किरहँदा संक्रमणको खतरा हुन्छ तर आगामी केही हप्ता घरमै रहँदा निरासा बढ्ने छ ।
किराना पसल र औषधि पसल जाँदा ठूलै संकटजस्तो देखिन्छ । हरेकले सामानहरु जम्मा गरिरहेका छन्। मैले हालसम्म डराउने कुराको विरोध गर्दै आएँ तर अन्तिममा हारेँ र आवश्यक नै नहुने सामानका पोका पनि मगाएँ।
मैले घुमेका धेरै रेस्टुरेन्टमा अझै पनि सामान्य माहौल छ। अधिकांश चिनियाँ रेस्टुरेन्टहरु भरिएका छन्। हामीलाई थाहा छैन यो कतिको खराब अवस्था हो र के परिणाम निस्कन्छ।
रोगका बारेमा यति अनिश्चितता छ कि विश्व स्वास्थ्य संगठनले भनेजस्तो मृत्युदर ३.४ हो या हाम्रा राष्ट्रपतिले दाबी गरेजस्तो त्योभन्दा पनि निकै कम हो ?
रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को वेबसाइट काम नलाग्ने भएको छ । सोमबार बिहान वेबसाइट हेर्दा १६४ जनामात्रै संक्रमित भएको विवरण थियो जबकि मिडियाले त्यस्ता बिरामी ५ सयभन्दा बढी भएको रिपोर्टिङ गरिरहेका थिए।
आतंक कोरोना भाइरसभन्दा बढी फैलिरहेको छ, किनकि त्रसित जनतालाई आश्वस्त पार्ने नेता कोही पनि छैन। राष्ट्रपति ट्रम्प (डोनाल्ड ट्रम्प)प्रति केही विश्वास छैन कि उनी यो संकटका बेला आउँछन्। उनलाई आफ्ना मिसन पुरा गर्नमै फुर्सद छैन।
फ्रेब्रुअरी २ मा उनले भनेका थिए, ‘चीनबाट आउने सबैलाई हामीले रोकिसक्यौं। फ्रेब्रुअरी २६ मा भने, ‘तपाईंहरु सामु जम्मा १५ जना संक्रमित छन् र अरु १५ संक्रमितलाई हामी एक/दुई दिनमै शून्यमा झारीदिन्छौं।’ शुक्रबार भने, ‘हामीले यसलाई बन्द गर्यौं, हामीले यसलाई राकिदियौं ।’
ट्रम्प र उनका सहयोगीहरुले बजारलाई मजबुत पार्नका लागि आशावादीपूर्वक आग्रह गरिरहेका छन् । आर्थिक सल्लाहकार ल्यारी कुड्लोले शुक्रबार कोरोना भाइरस अपेक्षाकृत रुपमा नियन्त्रणमा रहको भन्दै लगानीकर्तालाई शेयर किन्नका लागि आग्रह गरेका थिए।
लगानीकर्ताले स्वयं अवस्था निकै खराब भएको भन्दै प्रतिक्रिया दिइरहेका बेला ट्रम्पले सोमबार शेयर बजार धराशायी हुनुमा मिडियालाई जिम्मेवार ठहर्याउँदै थिए ।
मलाई यकिन छ कि हामी यसको माध्यमबाट कुनै प्रकारको अव्यवस्था उत्पन्न गर्ने छौं, जुन हामीसँग सधैं छ। हामीसँग अरु विकल्प नै के छ र? तर, मलाई यसमा सन्देह छ कि ट्रम्पको पुनर्निर्वाचन अभियान यो पराजयबाट जोगिन्छ भन्नेमा ।
(वासिङटन पोस्टमा प्रकाशित म्याक्स बूटको लेखको भावानुवाद। उनी पोस्टका नियमित स्तम्भकार हुन्। )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।