काठमाडौं–सरकारले प्रचलित सिक्का छाप्न १० वर्ष अगाडिदेखि योजना बनाए पनि अहिलेसम्म काम गर्न सकेको छैन। २०६७ सालतिर नेपाल राष्ट्र बैंकले सर्कुलेसन क्वाइन नेपालमै छाप्ने भनेर केही मेसिन ल्यायो। तर पुरा मेसिन आउन नसक्दा सर्कुलेसन क्वाइन छाप्न नसकेको नेपाल राष्ट्र बैंक टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
राष्ट्र बैंकले सिक्का छाप्न ल्याएका ती मेसिन अहिले सुनधारामा अलपत्र अवस्थामा छन्। करिब ५० वटा काम लाग्ने र कामै नलाग्ने २३ वटा मेसिन अहिले खुला आकासमुनि असुरक्षित अवस्थामा छन्। पानी पर्दा भिजेर बिग्रने अवस्थामा रहेका तिनलाई अझै पनि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सुरसार छैन।
सुनधारास्थित टक्सार विभागको जग्गा धरहराले लिने भएपछि हाल बबरमहलमा सारिएको छ। ती सबै मेसिन बबरमहलमै स्थानान्तरण गर्ने भनिए पनि तत्कालीन औषधि लिमिटेडले आफ्नो सामान गोदामबाट नलैजाँदा ती सबै मेसिन जोखिममा परेका हुन्।
औषधि लिमिटेडले हिसाबकिताब मिलाउन नसक्दा गोदाम खाली हुन नसकेको हो। नेपाल पुनर्निर्माण प्राधिकरण नेपाल सरकार र नेपाल राष्ट्र बैंकबीच सम्झौता भएपछि उक्त भवनमा राष्ट्र बैंकको विभाग सार्ने सहमति भएको थियो।
पुस महिनामै ती सबै मेसिन बबरमहल सार्ने योजना भए पनि औषधि लिमिटेडको अटेरीले पैसा छाप्ने मेसिन बिग्रिने जोखिम रहेको आचार्यले बताए। आवश्यक व्यवस्थापन नै नगरी नेपाल राष्ट्र बैकले मेसिन रहेको भवन भत्काउदा यस्तो अवस्था सिर्जना भएको हो।
सम्पूर्ण मेसिनलाई प्लास्टिकले छोपेर राखिएको छ। भवन भत्काउदा ती धुलाम्मे छन्। अझै पनि यस्तै अवस्थामा रहने हो भने सबै मेसिन बिग्रने र नियमित रुपमा छापिँदै आएका टकमरी तथा स्मारिका सिक्का छाप्ने काम रोकिने छ।
किन छाप्न सकिएन सर्कुलेसन क्वाइन
नेपाल राष्ट्र बैंकले २०६६ सालमा एक रुपैयाँ र दुई रुपैयाँ दरका सर्कुलेसन क्वाइन ठूलो मात्रामा छाप्यो। विदेशमा छापेर ल्याइएको उक्त सिक्का अझै पनि राष्ट्र बैंकले वितरण गरिरहेको छ। यसै अवधिमा नेपाल राष्ट्र बैंकले नेपालमै सिक्का छाप्ने भनेर केही मेसिन ल्यायो। तर ती मेसिन पर्याप्त नहुँदा छाप्न नसकिएको आचार्यले बताए। उनले भने, ‘सर्कुलेसन क्वाइन छाप्न मेसिन किनिए पनि पुरै मेसिन आएन, भएका मेसिन पनि धेरै पुराना भैसकेका छन्। पुराना मेसिन भएका कारणले अहिले क्वाइन छाप्न सकिएको छैन।’
सर्कुलेसन क्वाइन नै छाप्ने योजनाका साथ ती मेसिन ल्याइए पनि स्मारिका सिक्का, टकमरी, असर्फी, नेपाल सरकार तथा विभिन्न संघ संस्थाले दिने मेडल छाप्नेबाहेक अरु काम हुन सकेन। पैसा छाप्ने योजना बनाउदा बनाउदै अहिले नेपाल राष्ट्र बैंकले वितरण गर्ने सर्कुलेसन क्वाइनकै अभाव हुन थालेको छ।
निकट भविष्यमा सर्कुलेसन क्वाइनको अभाव हुने अवस्थामा छ। अहिले जगेडा रहेको क्वाइन एक वर्षभन्दा बढी धान्न सक्ने अवस्था छैन। भएका क्वाइन पनि मागअनुसार दिन सकिरहेको छैन।
कसैलाई एक किलो सर्कुलेसन क्वाइन चाहियो भने राष्ट्र बैंक दिन सक्ने अवस्थामा छैन। नेपालमा उक्त पैसा छाप्न नसक्ने अवस्था आएपछि नेपाल राष्ट्र बैंकले फेरि पनि विदेशबाट सर्कुलेसन क्वाइन छाप्न नेपाल सरकारलाई प्रस्ताव पठाएको छ। हाल नेपाल राष्ट्र बैंक सर्कुलेसन क्वाइन छाप्ने भन्दै ग्लोबल टेण्डरको आह्वान गर्ने तरखरमा छ। जबकि १० वर्ष अगाडि ल्याइएका मेसिनमा गरिएको लगानी बालुवामा पानी जस्तै भएको छ।
नेपाल राष्ट्र बैंकले नेपालमै सर्कुलेसन क्वाइन नछाप्नुको अर्को कारण धेरै लागत पर्ने भएकाले पनि हो। अहिले भैरहेकै मेसिनबाट सर्कुलेसन क्वाइन छाप्ने हो भने थप महंगो पर्नेछ। अहिले नेपालमा छाप्नुभन्दा विदेशबाट छापेर ल्याउदा सस्तो पर्ने राष्ट्र बैंकका पदाधिकारी बताउछन्।
एक रुपैयाँ दरका सर्कुलेसन क्वाइन विदेशबाटै छापेर ल्याउदा पनि एक रुपैयाँभन्दा धेरै पर्छ। एक र दुई रुपैयाँका दरका सर्कुलेसन क्वाइन यसै पनि मंहगो पर्न जान्छ। यदि नेपालमै छाप्ने हो भने थप महंगो पर्ने उनीहरुको तर्क छ।
एक पटकको असफलतापछि नयाँ मिन्ट खोल्ने दीर्घकालीन योजनामा नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले दीर्घकालीन योजना बनाएरै पैसा छाप्ने मिन्ट तयार पारिने थानेश्वर आचार्यले जानकारी दिए। राष्ट्र बैंकको भक्तपुरमा केही जग्गा रहेको र त्यहाँ फुल फ्लेजको मिन्ट तयार पारिने उनले बताए। यो आयोजना अबको चार पाँच वर्षमा सकिने उनले जनाए। उक्त मिन्ट नयाँ प्रविधियुक्त र नयाँ जनशक्तियुक्त हुनेछ।
उनले भने, ‘नेपाल राष्ट्र बैंकले प्रकृया अगाडि बढाइसकेको छ। त्यसपछि सर्कुलेसन क्वाइन पनि नेपालबाटै छाप्ने योजना छ।’ त्यसपछि नेपाल सर्कुलेसन क्वाइन, स्मारिका सिक्का, मेटालियल असर्फीमा पूर्ण आत्मनिर्भर हुने छ।
नेपालमा दैनिक एक लाख रुपैयाँको क्वाइन आवश्यक पर्छ। यसका लागि सधै नयाँ क्वाइनमात्रै चाहिन्छ भन्ने छैन। यसका लागि पुराना क्वाइनलाई धोइपखाली बजारमा पुनः पठाउन सकिन्छ। यसका लागि छुट्टै मेसिन आवश्यक पर्छ।
कुनै समय सुनधाराको टक्सार विभागलाई हटाउनेसम्मको खेल भयो। तर उक्त काम सफल हुन सकेन। यदि राष्ट्र बैंकले टक्सार विभागलाई राम्रोसँग सञ्चालन गर्ने हो भने वार्षिक अर्बौ रुपैयाँ लाभ लिन सक्ने अवस्था छ। अघिल्लो वर्षमात्रै नेपाल राष्ट्र बैंकले एक अर्ब रुपैयाँको सेवावापतको लाभ आर्जन गरेको थियो। यदि राष्ट्र बैंकले फुल फ्लेजमा काम गर्न सक्ने हो भने वार्षिक अर्बौ रुपैयाँको सेवा वापतको लाभ उठाउन सक्ने आचार्य बताउछन्।
याे पनि
औषधी लिमिटेडको अटेरीले भिजिट २०२० को स्मारिका सिक्का छाप्न ढिलाइ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।