काठमाडौं- भिजिट २०२० सुरु भएको तीन महिना बित्न लाग्दा पनि स्मारिका क्वाइन छाप्ने काम सुरु हुन सकेको छैन। पर्यटन वर्ष प्रवर्द्धनका लागि एक सय रुपैयाँको एक लाख थान र एक हजार रुपैयाँ दरको ५० हजार थान स्मारिका सिक्का छाप्ने काम अझै सुरु हुन नसकेको हो।
उक्त एक रुपैयाँको सिक्का क्युप्रोनिकेल धातुबाट बन्ने छ भने एक हजार रुपैयाँ दरको सिक्का शुद्ध चाँदीबाट बन्नेछ। नेपाल राष्ट्र बैंकको सुनधाराको टक्सार विभाग बबरमहल सर्दा यसको काम अगाडि बढ्न नसकेको हो। राष्ट्र बैंकले टक्सार विभागत बबरमहलमा सारे पनि सिक्का छाप्ने मेसिन अझै सार्न सकेको छैन। राष्ट्र बैंक जानुभन्दा अगाडि नेपाल औषधी लिमिटेडको कार्यालय थियो।
औषधी लिमिटेडले आफ्नो कार्यालय सारिसकेको भए पनि उसले गोदाम खाली नगर्दा सुनधाराबाट सिक्का छाप्ने मेसिन ल्याउन नसकिएको टक्सार विभागका प्रमुख थानेश्वर आचार्याले बताए। औषधी लिमिटेडको अटेरीको कारणले ती सिक्का छाप्ने काम हुन नसेको हो।
सुनधाराको जग्गा नेपाल पुनर्निमार्ण प्राधिकरणले धरहराकै लागि भनेर लिएपछि राष्ट्र बैंकले बबरमहल स्थित साविकको औषधी लिमिटेडको भवन १० वर्षका लागि लिजमा लिएको हो। भवन लिएर कार्यालय सञ्चालनमा आए पनि विभागको मेसिनहरु सार्न भने नसकिएको हो।
यसका लागि नेपाल सरकार, राष्ट्र बैंक, पुनर्निर्माण प्राधिकरणले उक्त मेसिन छिटो भन्दा छिटो ल्याउन पहल गर्नुपर्ने देखिएको हो। धरहरा निर्माणका क्रममा हाल सुनधारामा रहेका मेसिन असुरक्षित हुँदै गएको हुँदा बिग्रीने उच्च जोखम रहेको आचार्यले बताए। औषधी लिमिटेडले आफ्नो गोदाम खालि गर्ने बित्तिकै विभागले आफ्ना मेसिनहरु ल्याएर काम सुरु गर्ने उनले बताए।
हाल ५० वटा भन्दा धेरै मेसिन सुचारु हुने अवस्थामा रहेको र केहि मेसिन मर्मतसम्भार पछि मात्रै चल्ने अवस्थामा रहेको छ। मर्मत सम्भार र केहि मेसिन थप गर्न भन्दै ५ करोड रुपैयाँको बजेट छुट्टिएको आचार्यले जानकारी दिए। उक्त मेसिन मर्मत सम्भार गर्नु पर्ने तथा केहि नयाँ ल्याउनु पर्ने अवस्थाले गर्दा टक्सार विभाग समस्यामा परेको हो।
राष्ट्र बैंकले पर्यटन वर्षको स्मारिका सिक्कासँगै अन्य सिक्काहरु छाप्न पाएको छैन। सातवटै प्रदेशको चिनारी झल्कने गरी टकमरी सिक्का छाप्ने काम पनि अगाडि बढ्न सकेको छैन। हरेक प्रदेशका सामाजिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक चिनारी झल्किने खालका दृश्यसहित टकमरी सिक्का छाप्ने तयारी रहेको आचार्यले बताए। यदि सुनधाराबाट ती मेसिनहरु आउन सकेनन् भने यो काम पनि अझ ढिलाइ हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।