काठमाडौं- विश्वव्यापी संकटको रुप लिन थालेको कोरोना भाइरसको असर नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ मा पनि पर्ने भएको छ।
विश्वव्यापी संक्रमण बढ्दै गएपछि चैत २० देखि २२ सम्म आयोजना हुन लागेको कार्यक्रम केही समयपछि सार्ने तयारी सरकारले गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबारमात्रै विदेशमा गरिने भिजिट नेपाल २०२० का प्रवर्द्धनका सबै कार्यक्रम स्थगित गरेका थिए।
संक्रमणको संकट बढ्दै गएका बेला एक महिनापछि हुन लागेको कार्यक्रम अहिलेलाई स्थगन गरि आयोजना मिति केही समय पछि सार्न उपयुक्त हुने निचोडमा परराष्ट्र मन्त्रालय पुगेको स्रोतको भनाइ छ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि यसलाई रोक्ने निष्कर्षमा आफूहरु पुगेको बताएका छन् ।
मन्त्री ढकालले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सगरमाथा संवाद रोक्न ठिक हुन्छ कि भन्ने निस्कर्षमा हामी पुगेका छौैं ।’
यद्यपि सगरमाथा संवादको सचिवालयमा कार्यक्रम संयोजक रहेका कुमारराज खरेल भने अहिलेसम्म सबै कार्यक्रम यथावतै रहेको बताउँछन् । उपयुक्त तहबाट यसबारे एक/दुई दिनमै निर्णय हुने उनको भनाइ छ।
‘एक दुई दिनमा उपयुक्त तहबाट निर्णय हुँदै छ,’ खरेलले नेपाल लाइभसँग भने, ‘अहिले त हाम्रो सबै तयारी यथावत नै छ। हामीलाई संवादमा आउने भनेका अतिथिहरुले आउँछौं भने भनेका छन्, अहिलेसम्म रद्द गरेका छैनन्।’
नेपालले पहिलोपटक आयोजना गर्न लागेको कार्यक्रमको नारा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण तथा मानव जातिको भविष्य’ रहेको छ।
सगरमाथा संवादको पहिलो संस्करणमा सरकारले २० देशका कार्यकारी प्रमुखलाई निम्ता गरेको थियो।
परराष्ट्र मन्त्रालयको पहलमा हुन लागेको संवादमा विज्ञसहित करिब एक सय ५० अन्तर्राष्ट्रिय सरोकारवालालाई निमन्त्रणा गरिएको छ।
सगरमाथा संवादको तयारीस्वरुप गत माघ २६ गते परराष्ट्र मन्त्रालयले राष्ट्रिय संवाद पनि आयोजना गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।