काठमाडौं- नेपाल स्टक एक्सचेन्जको अधिकतम कारोबारको रेकर्ड आइतबार पनि तोडिएको छ। विगत १५ दिनयता दोस्रो बजारको अधिकतम कारोबारमा दिनदिनै नयाँ रेकर्ड कायम हुँदै आएको छ।
नयाँ रेकर्ड राख्ने क्रममा आइतबार दोस्रो बजारमा ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ। बिहीबार पनि नयाँ रेकर्ड राख्ने क्रममा ४ अर्ब ४६ करोड रुपैयाँ नाघेको थियो।
कारोबार रकम बढे पनि सूचक भने ४०.८२ अंकले घटेको छ। कारोबार सुरु भएको केहि समय सुधार देखिए पनि गएका दिनमा शेयर खरिद गरेकाले नाफा बुक गर्दा बजार घट्न थालेको थियो। पहिलो एक घण्टामै ३७ अंकले घटेको बजारमा बाउन्स ब्याक हुँदै सुधार देखिएको थियो।
तर लगानीकर्ताले नाफा बुकलाई निरन्तरता दिँदा नेप्से सूचक भने घटेको छ। बजार सुधार हुने अभिलाषामा केही लगानीकर्ताले घटेको मूल्यमा शेयर पाएको भन्दै खरिद गर्दा कारोबार रकमले इतिहास रचेको हो।
बजार सुधार भएसँगै उच्च नाफा गर्ने अभिलाषाले दोस्रो बजारमा लगानीकर्ताहरूले कारोबार बढाइरहेका छन्। केही नयाँ लगानीकर्ता बाहेक अधिकाम्स पुरानै लगानीकर्ताले आफ्नो कारोबार बढाउँदै आएका छन्।
बढ्दो बजारमा नोक्सानको जोखिम न्यून हुन्छ। यसले गर्दा अधिकांश लगानीकर्ता जगेडामा रहेको पैसा, बैंक कर्जा र ऋण सापटी लिएर कारोबार बढाइरहेका छन्। दिनदिनै बजार सुधार हुँदा पुराना लगानीकर्ताको पोर्टफेलियो विस्तारै सुधार भैरहेको छ। पुराना शेयरधनीहरूको लगानी गर्ने क्षमता बढिरहेको छ। अर्को तर्फ बजारमै पूर्ण रूपमा लगानी गर्ने लगानीकर्ताहरुले सम्पूर्ण ध्यान शेयर बजारमै केन्द्रित छ।
आइतबार फाइनान्स बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आएको छ। सबैभन्दा धेरै बीमा र माइक्रोफाइनान्सको सूचकमा करेक्सन देखिएको छ। सबैभन्दा धेरै एनएमबी बैंकको २६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ।
मितेरी डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी सुधार भएको छ। दोस्रो बजारमा १ सय ८३ वटा कम्पनीको कारोबार हुँदा १६ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने १ सय ३५ वटाको मूल्यमा गिरावट आएको छ।
आज १२ करोड ५१ लाख कित्ताको खरिद बिक्री भएको छ। गत मंगलबार भन्दा अगाडि शेयर खरिद गरेकाले राम्रो मुनाफा आर्जन गरिसकेका छन्। त्यसैले मंगलबारभन्दा अगाडि शेयर खरिद गरेकाले नाफा बुक गरेका हुन्। यदि उनिहरूले नाफा बुक गरेर बाहिरिए भने बजारमा ठुलो गिरावट आउनेछ।
बजारबाट आर्जन भएको नाफा पुनः बजारमै लगानी भयो भने बजारमा भोलिका दिनमा सुधार आउन सक्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।