काठमाडौं– नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा नेपाल आइपुगेका छन् ।
क्वात्रा फ्रान्सबाट कतार हुँदै आइतबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका हुन्। उनलाई भारतीय दूतावासका कार्यवाहक राजदूत अजयकुमारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
भारतीय विदेश सेवामा ३२ वर्ष लामो अनुभव सँगालेका क्वात्रा यसअघिका राजदूत राजदूत मन्जिभसिंह पुरीभन्दा बढी अधिकारससहित नेपाल आएका हुन्।
भारतीय दूतावास स्रोतका अनुसार उनी राजनीतिक अधिकारसहित नेपाल आएका हुन्। यसअघिका राजदूत पुरीलाई राजनीतिक अधिकार थिएन।
यसअघि नेपालमा आएका भारतीय राजदूतहरु मध्ये श्यामशरणले मात्रै राजनीतिक अधिकार पनि पाएका थिए। नेपालको आन्तरिक राजनीतिमा ‘माइक्रोम्यानेज’ गर्न खोजेको भन्दै उनको आलोचना हुने गरेको छ।
यसअघि फ्रान्सका लागि भारतीय राजदूत रहेका क्वात्रा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुचाएका कूटनीतिज्ञ मध्येका एक हुन्।
फागुन २१ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष क्वात्राले ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ। त्यसपछि उनको औपचारिक जिम्मेवारी सुरु हुनेछ।
क्वात्रा सन् २००५ देखि २०१० सम्म सार्कमा निर्देशकको जिम्मेवारीमा नेपालमा थिए।
उनीले चीन, अमेरिका र राष्ट्रसंघीय मिसनमा समेत काम गरिसकेका छन्।
सार्क महासचिवले आजै जिम्मेवारी सम्हाल्ने
त्यस्तै रिक्त सार्क महासचिव पदको जिम्मेवारी सम्हाल्न श्रीलंकाली कूटनीतिज्ञ इसाला विराकुन आजै नेपाल आउँदै छन्। उनले आजैदेखि कार्यभार सम्हाल्ने भएका छन्। तीनवर्षे कार्यकाल सम्हाल्न लागेका विराकुनको नाम विदेशमन्त्रीस्तरीय बैठकले गत सेप्टेम्बरमा अनुमोदन गरेको थियो।
सार्कका वर्तमान महासचिव पाकिस्तानका अम्जद वि हुसेन सियालको पदावधि सकिएपछि विराकुन नयाँ जिम्मेवारीमा आएका हुन्।
श्रीलंकाको परराष्ट्र मन्त्रालय तथा पर्यटन मन्त्रालयका पूर्वसचिव समेत रहेका उनी भारतका लागि श्रीलंकाको राजदूत पनि भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।