राजविराज– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्धनमा पूर्वाधार कर र पुस्तकमा लगाइएको आयात करको विरोध गर्दै आइतबार सप्तरीको राजविराज–कुनौली सडक आधा घण्टा अवरुद्ध गरेको छ।
नेविसंघ आबद्ध विद्यार्थीहरुले विष्णुपुर गाउँपालिकास्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसअगाडि टायर बालेर सडक अवरुद्ध पारे। सरकारले संसदलाई छलेर पेट्रोलियम पदार्थमा १० रुपैयाँ पूर्वाधार कर लगाएको र पाठ्यपुस्तकमा १० प्रतिशत आयात कर लगाएर नागरिकको ढाड भाँच्ने काम गरेकाले विरोध गरिएको नेविसंघका जिल्ला उपाध्यक्ष रामचन्द्र यादवले बताए। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले यातायातलगायत सम्पूर्ण उपभोग्य वस्तुमा मूल्य वृद्धि हुने र सर्वसाधारणले त्यसको असर भोग्नुपर्ने उनले बताए।
पाठ्यपुस्तकमा कर लगाउँदैमा मुलुकको विकास नहुने भन्दै उनीहरुले सर्वसाधारणको असहजतालाई मध्यनजर गरी कर लगाउने निर्णय फिर्ता लिनुपर्ने माग गरे। पेट्रोलियम पदार्थ र पुस्तकमा कर लगाउनले निर्णय फिर्ता नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने यादवले चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।