डोटीको पूर्वीचौकी गाउँपालिकामा शनिबार राती परेको असिनाले तरकारीलगायत गहुँबालीमा क्षति पुर्याएको छ।
डाेटी- जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो नोक्सानी पुर्याएको छ।
पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काका अनुसार साँझ परेको असिनाले गहुँ, जौँ, तोरी र तरकारीबालीमा क्षति पुगेकाे छ। सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पुर्यायो भन्ने आँकलन नभएको जानकारी दिए।
असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन्। जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पुर्याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताए।
उनले भने, 'असिनाले किसानलाई निकै समस्या पार्यो।' गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पुर्याएपछि निरास भएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।