जेनेभा (स्विटजरल्यान्ड)- मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसिएचआरकी प्रमुख मिसेल ब्याचलेट नेपालको सङ्क्रमणकालीन न्याय गम्भीर मोडमा रहेको उल्लेख गरेकी छन्।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रमा मानवअधिकार हेर्ने निकायकी प्रमुखले नेपालको सङ्क्रमणकालीन न्याय गम्भीर मोडमा रहेको बताएकी हुन्।
जेनेभामा सम्पन्न मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरकी प्रमुख मिसेल ब्याचलेटले नेपाल सरकारलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वासको वातावरण बनाउन सुझाव दिएकी थिइन्। सरकारले असल नियत लिएर द्वन्द्व पीडित र नागरिक समाज सम्मिलित बृहत छलफल अघि बढाउनुपर्ने उनको सुझाव छ।
लगभग १४ वर्षअघि शुरू भएको नेपालको शान्ति प्रक्रिया अन्तर्गत सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयवस्तुमा उल्लेख्य प्रगति नहुँदा राष्ट्रसङ्घको पछिल्लो भनाइ आएको हो।
सङ्क्रमणकालीन न्यायको चर्चा
उक्त बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सहभागिता जनाएका छन्।
ज्ञवालीसँगको फेब्रुअरी २६ तारिखमा भेटेकी ब्याचलेटले शुक्रबार आफ्नो सम्बोधनमा नेपालसहित विभिन्न देशको मानवअधिकारको अवस्थाबारे चर्चा गरेकी थिइन्। नेपालबारे उनी सङ्क्रमणकालीन न्यायको विषयमा मात्रै केन्द्रित भइन्।
मङ्गलबार मानवअधिकार परिषद्को बैठकमा बोल्दै मन्त्री ज्ञवालीले द्वन्द्वकालका मानवअधिकार उल्लङ्घनका घटनाहरू हेर्ने सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा नयाँ पदाधिकारीहरू नियुक्त गरिएको र उनीहरूले आफ्नो काम पूर्णरूपमा अघि बढाएको बताएका थिए।
मन्त्री ज्ञवालीले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई नेपालको शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशन, अन्तर्राष्ट्रिय प्रतिबद्धता, द्वन्द्व पीडितको सरोकार र घरेलु यथार्थका आधारमा सम्बोधन गरिने उल्लेख गरेका थिए। -एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।