काठमाडौं-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी ऐन संशोधनकाे तयारी भइरहेको बताएकी छन्।
आफ्नो २ वर्षे कार्यकाल अवधिको उपलब्धि सार्वजनिक कार्यक्रममा शुक्रबार बोल्दै मन्त्री अर्यालले सहकारी ऐन संशोधन गरिने बताएकी हुन्।
‘सहकारी ऐन संशोधनका निम्ति मन्त्रालय तयार छ। वित्तीय कारोबारसँग जोडिएर आएका विषयलाई ऐन संशोधनमार्फत समाधान गर्ने गरी हामी अगाडि बढेका छौं,’ उनले भनिन्।
सहकारी ऐनमा भएको बचत तथा ऋण सहकारी संस्थाले मात्र बचत तथा ऋणको कारोबार गर्न पाउने अर्थात् वित्तीय कारोबार गर्न पाउने उद्देश्यले राखिएको ‘मुख्य कारोबार’ शब्द हटाउन राष्ट्रिय सहकारी महासंघले लबिङ गरिरहेको छ। सबै सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्न सक्ने गरी ऐन संशोधन गर्न लागिएकोमा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) ले भने त्यसको विरोध जनाउँदै आएको छ।
वित्तीय अनुशासन पालनामा निकै कमजोर देखिएका सहकारी संस्थालाई वित्तीय कारोबार गर्न दिइनु थप समस्या निम्ताउनु रहेको सहकारी क्षेत्रका जानकारहरु बताउँछन्। सहकारी ऐन संशोधन गर्ने विषयलाई मन्त्रालयले कृषि, प्राकृतिक श्रोत तथा सहकारी समितिमा लगेर छलफलसमेत गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।