काठमाडौं-बच्चा बोकेकी एक महिलामाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले छानबिन सुरु गरेको छ।
महिलालाई कुटपिट गर्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि छानबिन सुरु गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
नेपाली सेनाका पूर्व सहायक रथी हेम खत्री र माला शाहबीच भएको विवाद मिलाउन भन्दै अभियन्ता बनेर बच्चासहित पुगेकी हेमा श्रेष्ठलाई निरीक्षक खत्रीले लट्ठीले कुटपिट गरेका थिए ।
हेमासहितका महिला पूर्व सहायक रथी खत्रीको भैंसेपाटीस्थित घरमा पुगेका थिए। सो क्रममा हेमामाथि कुटपिट भएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन सुरु गरेको हो।
कुटपिट गर्ने प्रहरी निरीक्षक पौडेल महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत छन्।
पूर्व सहायक रथी खत्री आफ्नो श्रीमान रहेको र त्यसको नाता प्रमाणित गरिदिनु पर्ने माग शाहले गरेकी थिइन् । तर खत्रीले त्यस्तो कुनै सम्बन्ध नरहेको बताउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।