काठमाडौं– सरकार पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुका लागि मलेसियालगायत खाडीको विकल्प मुलुकको खोजिमा छ। सरकारले नजर लगाउने हो भने हङकङ पनि नेपाली कामदारका लागि एक आकर्षक गन्तव्य मुलुक बन्न सक्छ।
पारिश्रमिक र सुरक्षाका हिसाबले पनि हङकङ निकै राम्रो छ। सामान्य घरेलु कामदारका रुपमा काम गर्नेहरुले खाएर बसेर मासिक ७० हजारभन्दा बढी कमाइ गर्न सक्छन्। अझ सेक्युरिटी गार्डमा काम गर्नेहरुले मासिक अढाइ लाखदेखि ३ लाखसम्म कमाइ गर्न सक्छन्।
म सन् १९९४ देखि हङकङमा रहँदै आएकी छु। मेरो लामो बसाइको अनुभवले पनि भन्छ। म दिउँसो वा राति जतिबेला निस्किए पनि त्यहाँ कुनै डर, त्रास छैन। ढुक्क भएर हिड्न सकिन्छ।
यहाँ घरेलु कामदारको ठूलो माग पनि छ। जोखिम मोलेर खाडी गइरहेका महिला दिदीबहिनीहरुका लागि हङकङमा बाटो खुल्ला गर्न सके निकै राम्रो अवसर पनि छ।
वीर गोरखाली भनेर हङकङका स्थानीयले नेपालीलाई निकै ठूलो विश्वास गर्छन्। जसले गर्दा सुरक्षा गार्डमा पनि नेपालीहरुलाई ठूलो अवसर छ। अझ त्यहाँ फिलिपिन्स, थाइल्याण्ड, कम्बोडियालगायत अन्य मुलुकका कामदार र नेपाली कामदारमध्येबाट छनोट गर्नुपर्यो भने नेपाली नै छनोट गरिन्छ।
अहिले पनि त्यहाँ ३० हजारको हाराहारीमा नेपालीहरु छन्।
तर‚ जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले सन् २००५ देखि नेपाली कामदारलाई (वर्किङ) भिसा बन्द गरेको छ।
नेपाली कामदार लामो समयसम्म (ओभर स्टे) तोकिएभन्दा लामो समयसम्म बस्ने प्रवृतिले गर्दा हङकङले वर्किङ भिसा बन्द गरेको हो। भिजिट भिसामा गएर पनि शरणार्थी बन्ने र बस्ने प्रवृति बढेकाले हङकङ सरकारले भिजिट भिसामा समेत कडाइ गरेको छ।
पहिले १५ सयभन्दा बढी ओभरस्टे रहेका नेपालीहरुको संख्यामा अहिले कमी आएको छ।
भिसामा कडाइ गरेसँगै अहिले लभगभ १ सय ५० को हाराहारीमा मात्रै भएको अनुमान गरिएको छ। अवैध भएर बसेका नेपालीहरुको संख्यामा कमी आएसँगै अहिले नेपाल सरकारले हङकङसँग पुनः कामदार भिसा खुल्ला गर्न कुटनीतिक पहल गर्ने अवसर छ।
एनआरएन हङकङले पटक-पटक वर्किङ भिसा खुल्ला गर्नका लागि कुटनीतिक पहल गर्न सरकारसँग अनुरोध गर्दै आएको छ। यो पटक पनि मैले श्रम मन्त्री र परराष्ट्रमन्त्रीज्यूसँग कुटनीतिक पहलका बारेमा कुरा राखेकी छु।
हङकङ नेपाली युवाहरुका लागि रोजगारीको आकर्षक गन्तव्य मुलुकभएकाले रोजगारी खुलाउन तत्काल कुटनीतिक पहल गर्नका लागि आग्रहस्वरुप श्रम मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छौं। मन्त्रीज्यूले हेर्छु भन्नुभएको छ। आशा गरौं।
(वैदेशिक रोजगार पत्रकार समाजसँगको भेटघाट कार्यक्रममा एनआरएनए हङकङकी अध्यक्ष राधिका गुरुङले दिएको प्रतिक्रियाको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।