जनकपुर- लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत सुरु भएको छ। याे धार्मिक पदयात्रालाई नेपाल-भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावकाे प्रतीकको रुपमा पनि चिनिन्छ।
मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्छ। १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो। फागुन कृष्णपक्षको औंसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो।
आजराति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु भोलि बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरको लागि प्रस्थान गर्नेछन्।
फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकि परिक्रमाको विधिवत रुपमा सुरुवात हुने परम्परा रहेको महन्थ नवल बाबाले बताए।
महाशिवरात्रि लगत्तै सुरु भएको मिथिलाको लोकप्रिय १५ दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा याे पटक फागुन महिना उल्लास एवं भक्तिमय हुने भएको छ। परिक्रमामा सहभागीहरु क्रमशः फुलहरको गीर्जास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर मडै ध्रुवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर र फागुन पूर्णीमाको दिन जनकपुर फर्कने छ।
मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौंकाे सहभागिता रहने यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका छोटे महन्थ राम रोसन दास वैष्णवले बताए।
परिक्रमामा सहभागिहरुको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ। परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन्। स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन्। सहभागीहरु दिनभरी यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताँउछन्।
नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावकाे प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको २ गरी १५ विश्रामस्थल छन्।
मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो। यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ। परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगहा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागिता हुने गर्दछ।
परिक्रमामा सहभागी हुनाले पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने र मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको पण्डित लालबाबु झाले बताउँछन्।
प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ। वृहत माध्यमिकी र अन्तःगृह परिक्रमा मंसिर, माघ, फागुन र बैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भएपनि ती परिक्रमा फागुन महिनामै हुने परम्परा रहेको महन्थ दासले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।