काठमाडौं- विशेष अदालतले ललिता निवास प्रकरणमा ३४ जना प्रतिवादीहरुलाई म्याद पठाएको छ। १ सय १० जना प्रतिवादीमध्ये आइतबारसम्म २९ जना प्रतिवादीको म्याद विशेषले तामेल गर्न पठाएको थियो। मंगलबार थप पाँच जनाको म्याद पठाएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।
मंगलबार विशेषले मालपोत कार्यालय डिल्लिबजारमा थप पाँच जनाविरुद्ध म्याद तामेलका लागि पठाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार मन्त्रीसहित सचिव,भूमि सुधार विभागमा महानिर्देशक, मालपोत कार्यालयका कर्मचारी र नक्कली मोही निर्माण गर्ने विचौलियाहरुविरुद्ध मुद्दा दायर गरेको थियो।
आइतबार म्याद जारी हुनेमा अधिकांश मालपोत कार्यालयका कर्मचारी रहेका छन्। मालपोत कार्यालय डिल्लीबजारका प्रमुख हरिकृष्ण तिमल्सिना, खरिदार श्यामकुमार क्षेत्री, शाखा अधिकृत कृष्णप्रसाद पोखरेल, नासु प्रकाश नारायण भट्ट, टंकनाथ पौडेल, प्रेम बहादुर खापुललगायत छन्।
यसअघि विशेषले १४ जनालाई अदालत उपस्थित हुन म्याद जारी गरेको थियो। विशेषले म्याद पठाउनेमा भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, मालपोत कार्यालय डिल्लीबजारका प्रमुख टिकाराम घिमिरे, मालपोत कार्यालयका सुब्बा टीकाबहादुर बिसी, मालपोत कार्यालय काठमाडौंका खरिदार जीवनाथ पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख अर्जुनप्रसाद भण्डारी र मालपोत कार्यालय डिल्लीबजारका नासु श्रीहरि पुडासैनी थिए।
आरोपपत्रमा उल्लेख भएका व्यक्तिहरुको ठेगाना रुजु गर्ने कार्य भइरहेकाले आइतबारदेखि थप आरोपितको हकमा म्याद जारी गर्ने उनले बताए।
गत बुधबार विशेषले भूमिसुधार विभागका महानिर्देशकसहित डिल्लीबजार मालपोतका तत्कालीन ७ कर्मचारीलाई म्याद जारी गरेको थियो।
ललिता निवास जग्गा प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, भूमि तथा व्यवस्थापन विभागका महानिर्देशक मुकुन्द आचार्य, डिल्लीबजारकै मालपोत अधिकृत सुरेन्द्रमा कपाली, शाखा अधिकृत धर्मप्रसाद गौतम, नायब सुब्बा जगतप्रसाद पुडासैनी, डिल्लीबजार मालपोतका नायब सुब्बा युक्तप्रसाद श्रेष्ठ, विभागकै अर्का महानिर्देशक रुद्रकुमार श्रेष्ठको नाम, थर वतनमा म्याद जारी गरेको थियो।
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका समयमा पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका थिए।
गत साउन १३ गते उनले काठमाडौंको बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम्फालेर आत्महत्या गरेका थिए।
प्रधानमन्त्री निवास बालुवाटार परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो।
मालपोत कार्यालय डिल्लीबजारमा खरिदार रहँदा उनले नक्कली कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।