इटहरी- इटहरीको रामजानकी वृद्धाश्रममा जन्मदिन मनाउने युवाहरुको भीड नै लागेको छ। ९ जना वृद्धा बस्ने आश्रममा दैनिकजसो यस्तै भीड हुन्छ। तिनैमध्येकी एक हुन् मनमाया थापा।
जनयुद्धमा बेपत्ता भएको छोरो खोज्न हिडेकी मनमाया आफैं फर्किएर घर पुगेकी छैनन्। श्रीमान्‚ छोरा‚ छोरी सबै गुमाएकी उनी छोरो खोज्दै आश्रम पुगेकी हुन्।
यो घटना फक्ताङलुङ गाउँपालिका (साबिकको तमोरखोला मामुखे गाविस) काे हो। ताप्लेजुङको पहाडी भेग हो फक्ताङलुङ।
घटना २०५८ सालको हो। देशमा संकटकाल घोषणा भएको थियो। तत्कालीन राज्य र विद्रोही पक्ष दुवैबाट गाउँमा खतरा थियो। दशैं तिहार सकेपछि भर्खरै स्कुल खुल्न थालेको थियो।
मनमायाको छोरो रमेश पनि स्कुल जाने भए। घरमा धेरै काम छ भरे छिट्टै आउनु है भन्दै उनी काममा लागिन्। छिट्टै आउनु भनेकै दिन साँझसम्म छोरो फर्किएन। उनको मनमा चिसो पस्यो।
गाउँमा कुनै साथीकोमा बस्यो होला भन्ने सोचिन्। भोलिपल्ट खाना खाने बेलासम्म पनि रमेश घर पुगेनन्। साथीकैबाट स्कुल गयो होला भन्दै फेरि मन बुझाइन्। भोलिपल्ट रातिसम्म पनि छोरो नआएपछि गाउँमा हल्ला गर्न थालिन्। मनमायाको मन थामिएन।

वरपर सबैतिर डुल्न थालिन्। सोही गाउँबाट धेरैका छोराछोरी माओवादीमा लागिसकेका थिए। रमेश पनि माओवादीमै लाग्यो, केही दिनमा फर्केला भनेर गाउँलेले सुझाव दिए। तर गाउँलेले फर्केला भनेको छोरो अझै फर्किएको छैन।
मनमायाले २०३५ सालमा पहिलो सन्तानको रुपमा छोरी जन्माइन्। न्वारन गर्न नपाई छोरीको मृत्यु भयो। ७ दिन नपुग्दै छोरी गुमाएकी उनले अधबैँसे अवस्थामै श्रीमान् पनि गुमाउनुपर्यो। बजारबाट घर फर्कँदै गर्दा भीरबाट लडेर श्रीमान् बेपत्ता भए। श्रीमानको अभावमा साथ दिने छोरो थियो। अहिले छोरो हराएको १९ वर्ष पुग्यो। तर कहाँ छ भन्ने ख्याल छैन।
अहिले उनी आफैँ सो गाउँबाट बेपत्ता भएकी छिन्। २०६१ सालसम्म घरबाट निस्कन सक्ने अवस्था थिएन। जनयुद्ध भयंकर चर्किरहेको थियो। बजार जानसम्म सक्ने अवस्था थिएन।
माओवादी शान्ति प्रक्रियामा आएपछि छोरो आउला भन्ने ठूलो आश थियो उनलाई। जुन आशाको दियो अहिले मधुरो हुँदै गएको छ। छोरो खोज्दै उनी सदरमुकाम फुङ्लिङ्गसम्म पुगिन्। जिल्ला प्रशासन कार्यलयमा उनले छोराको नाम टिपाइन्।
छोरोबिनै घर फर्कन मनमायाको मन मानेन । पाचँथर‚ इलाम हुँदै उनी झापासम्म झरिन्।
‘स्कुल देख्नेबित्तिकै छोरो छ कि भन्दै सोध्न पुग्थेँ,’ भावुक हुँदै उनी सुनाइन्, ‘त्यसो गर्दैगर्दै म काठमासम्म पुगें। कतै पनि छोरो भेटिएन।’
काठमाबाट फर्किएर उनी सुनसरी पुगिन्। सुनसरीको प्रशासपुरमा कार्कीहरु उनका मावली हुन्। ‘मावलमा कसैले पनि चिन्दैनौं भनेपछि मेरो मन मर्यो,’ उनी भन्छिन्, ‘त्यसपछि म बराहक्षेत्र मन्दिरमा एउटा कुटी बनाएर बसेँ। आउने जानेले खान लाउन दिन्थे। म बिस्तारै त्यसैमा बानी परें।’

उनी २०६६ सालदेखि ६ वर्षसम्म बराह क्षेत्रमै बसिन्। पछि नयाँ भवन बनाउने भन्दै उनले बनाएको कुटी भत्काइयो। त्यहाँबाट उनी निष्कासित नै भइन्। त्यसपछि मनमाया धरानको विश्वकर्मा मन्दिरमा पुगिन्। ३ वर्षसम्म सोही मन्दिरमा बसिन्।
एकै ठाउँमा धेरै बस्न मन मानेन। मनमायाको मन भौतारिरह्यो। त्यतिकैमा उनी मोरङ सुनसरीको सिमानामा पर्ने बुढी खोला किनारको मन्दिरमा पुगिन्। ४ महिना बसेपछि मन्दिर व्यवस्थापन समितिले अब मन्दिर छाड्नुपर्ने भयो भन्यो।
व्यवस्थापन समितिकै एक सदस्यले वृद्धाश्रममा पुर्याइदिन्छु त्यहीँ बस्नु भने। उनले पनि नाइ भन्न सकिनन्।
अहिले उनी इटहरी-१६ को रामजानकी वृद्धाश्रममा छिन्। बिहान बेलुका खाना र खाजाको व्यवस्था सोही आश्रमले गरेको छ। कसैले जन्मदिन वा कुनै समारोहमा वृद्धाश्रममा खानेकुरा र लत्ताकपडा लिएर जान्छन्। त्यही सामान थाप्दै बस्छिन मनमाया।
लाउन खानको कुनै अभाव छैन उनलाई। तर जनयुद्धमा हराएको छोराको अभाव भने खड्किरहेको छ। भन्छिन्, ‘कोही लोग्ने मान्छे आयो भने मेरै छोरो पो आयो कि भने झैं लाग्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।