काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयको जिम्मेवारी लिएको एक महिना नबित्दै एउटा विषय जोडतोडका साथ आगडि सारे। विषय थियो, आन्तरिक उडानमा रहेका नेपाली र विदेशी नागरिकबीचको विभेदपूर्ण हवाई भाडा अर्थात् आन्तरिक वायुसेवा कम्पनीले लिँदै आएको ‘डलर फेयर’।
मन्त्री भट्टराईले भनेको थिए, ‘आन्तरिक उडानको हवाई भाडामा नेपाली र विदेशीलाई फरक-फरक रेट रहेछ, यो मान्य हुँदैन।’ हरेक जस्तो पर्यटन मन्त्रालयको कार्यक्रममा मन्त्री भट्टराईको तर्क हुन्थ्यो, आन्तरिक उडानको विभेदपूर्ण हवाई भाडा हटाइन्छ। नेपाली नागरिक सरह नै विदेशीले पनि यात्रा गर्न पाउँनुपर्छ र पाउने वातावरण म बनाउँछु।
‘नेपालीले विदेशमा गएर त्यहाँ के नागरिक सरहको हैसियता हवाई यात्रा गरिरहेको छन्? किन नेपालमा हवाई भाडामा विभेद? यो नेपाल सरकारलाई मान्य हुँदैन। सरकारले वायुसेवा सञ्चालकहरुसँग छलफल गरेर हवाई भाडाको विवेद अन्त्य गर्छ। यसका लागि व्यवसायीसँगको सहमतिमै हुन्छ। व्यवसायीलाई पनि समस्या रहेको खण्डमा राज्यले केही अनुदान दिन परे पनि दिन्छ। तर, डलर फेयरका नाममा विदेशीसँग ३ गुणा बढी भाडा असुल्न पाइँदैन’ मन्त्रीले भन्ने गरेका थिए।
तर, योगेश भट्टराईले मन्त्रालयलेको जिम्मेवारी समालेको साढे ६ महिना भइसकेको छ। नत मन्त्रालयले डलर फेयरमा हस्तक्षेप गर्न सेकेको छ। न त व्यवसायीले नै डलर फेयर कटौती गरेका छन्।
मन्त्री भट्टराईले डलर फेयर कटौती गर्ने भन्दै अभिव्यक्ति दिन थालेसँगै वायुसेवा अपरेटहरु विरोधमा उत्रेका थिए। मन्त्रीले डलर फेयर सरकारका लागि कुनै पनि हालतमा सह्यै नहुने भन्दै अभिव्यक्ति दिने क्रम बढ्दै जाँदा नेपालको आन्तरिक उडानको सबैभन्दा ठूलो बजार हिस्सा ओग्ट्न सफल बुद्ध एयरलाइन्सका मालिक विरेन्द्रबहादुर बस्नेतले सरकारले डलर फेयरमा हात हालेको दिन सेवा नै बन्द गरेर सरकारका लागि साँचो बुझाउने चेतावनी दिएका थिए। तर, व्यवसायीको चेतावनीपछि पनि मन्त्री भट्टराईले उक्त विषयमा बोल्न छाडेनन्। उनले भन्दै हिंडे व्यावसयीकै सहमतिमा डलर फेयर हटाइन्छ।
तर, अहिले उक्त विषय सुनसान जस्तै भएको छ। न त मन्त्री भट्टराईले डलर फेयर विषयमा बोलेका छन् न त व्यवसायी। सुनसानजस्तै बनेको विषयमा मन्त्रालयले भने केही एयरलाइन्सको सहयोगमा सुगममा उडान भर्नेको हकमा डलर फेयर कटौती गरेर दुर्गमका उडान गर्नेका लागि मात्रै डलर फेयर प्रयोगमा ल्याउन दिने गरी निर्णय गर्ने तयारी गरेको छ।
डलर फेयरमा सुगम र दुर्गम छुट्टाउने हो भने अहिले आन्तरिक उडानको क्षेत्रमा प्रतिस्पर्धामा रहेका ४ वटा एयरलाइन्समात्रै चेपुवामा पर्ने छ भने ३ वटा एयरलाइन्समात्रै सहजता हुने निश्चित छ। सुगमको हकमा डलर फेयर घटेको अवस्थमा आन्तरिक हवाई यात्रा मंहगो हुने श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल माननधर बताउँछन्।
सरकारले भने यती एयरलाइन्सको भगिनी संस्था तारा एयर, सिता र समिट एयरलाई मात्रै सभ्य हुने गरी सुगमको डलर फेयरमा हस्तक्षेत्र गर्ने तयारी गरेको मन्त्रालयका एक सह-सचिवको दाबी छ। ‘सरकारले सुगम र दुर्गम भनेर डलर फेयरको विषयमा निर्णय गर्नु ठीक हुँदैन,’ एक सहसचविले भने, ‘सुगम र दुर्गम भनेर काम गर्न खोज्नुको पछाडि यती एयरलाइन्सको भगिनी संस्था तारालाई फाइदा हुने गरी काम गर्न खोजेको बुझिन्छ।’
सुगममा डलर फेयर हटाउने तयारीमा सरकार सफल भएको अवस्थमा आन्तरिक उडानको सबैभन्दा ठूलो कम्पनी बुद्ध र भखरै मात्रै आक्रमक रुपमा बजार विस्तारसहित अगाडि बढेको श्री एयरलाइन्स मर्कामा पर्ने छन्। पछिल्लो समय आन्तरिक उडानमा प्राइस वारको विषय पनि डलर फेयरसँगै जोडिएको छ। डलर फेयरकै कारण वायुसेवा सञ्चालकहरुले हवाई भाडामा प्रतिस्पर्धा गरिरहेका छन्।
शुक्रबारदेखि पोखरा उडान सुरु गरेको श्री एयरलाइन्स नेपाली नागरिका लागि मात्रै नभइ विदेशी नागरिकसँग लिँदै आएको हवाई भाडासमेत घटाइसकेको छ।
आन्तरिक उडानमा वायुसेवा सञ्चालकहरुले हवाई भाडामा प्रतिस्पर्धा गर्नुको एउटै मात्रै आधार हो ‘डलर फेयर’। आन्तरिक उडानमा रहेको डलर फेयरकै कारण अहिले नेपाली नागरिकले सस्तोमा हवाई यात्रा गर्न पाइरहेको छन्। उदाहरणका लागि नेपाल सरकारबाट पोखराको लागि स्वीकृतभाडा ५ हजार भन्दा बढी छ। वायुसेवा सञ्चालकहरुले काठमाडौं-पोखरा उडानमा २ हजारदेखि २ हजार २ रुपैयाँमै यात्रा गराइरहेको छन्।
तर, विदेशीका लागि भने १ सय २३ डलर भाडा तोकिएको पोखरामा वायुसेवा सञ्चालकहरुले छुटसमेत गरी १ सय ३ डलरमा काठमाडौं-पोखरा र पोखरा-काठमाडौंको टिकट बेचिरहेका छन्। यसको अर्थ एउटा विदेशीले पोखरा जान चाहेको अवस्थमा १२ हजार रुपैयाँ खर्च गर्नु पर्छ। जसका कारण नै एयरलाइन्सले आन्तरिक उडानको हवाई भाडामा प्रतिस्पर्धा गरिरहेको छन्।
नेपालीका लागि हवाई भाडामा प्रतिस्पर्धा गरे पनि विदेशीको हकमा भने खासै प्रतिस्पर्धा छैन। ‘सुरुवाती चरणमा भएर मात्रै श्रीले पोखराको हकमा ८४ डलरमा विदेशी बोक्ने निर्णय गरेको छ। तर, यो लामो समयका लागि हैन,’ श्री एयरलाइन्सका बजार व्यवस्थापक माान्धरले भने।
पोखरा उडानमै रहेको सिम्रिक एयरका बजार व्यवस्थापक प्रज्जव थापा पनि आन्तरिक उडानमा प्राइसवार सुरु भइसकेको स्वीकार गर्छन्। ठूलो एयरलाइन्सबीचको प्रतिस्पर्धाले साना एयरलाइन्स चेपुवापर्ने अवस्था आइसकेको उनको भनाइ छ। सरकारले डलर फेयर हटाएको अवस्थामा साना एयरलाइन्समा संकट आउने सक्ने उनको भनाइ छ।
केही वर्षअगाडि मात्रै प्राइस वारकै कारण आन्तरिक उडानमा रहेका कस्मिक, निकोन र गुण एयर बन्द नै भएका थिए। एयरलाइन्स कम्पनी बन्द हुन भने व्यवासयीमात्रै डुब्ने नभएर सरकारलाई समेत घाटा हुने हो। सरकारले केही गरी डलर फेयर घटाएको अवस्था हवाई भाडामा व्यवसायीको सिन्डिकेट सुरु पनि हुनसक्ने थापाको भनाइ छ।
सबै व्यवसायी सरकारले तोकेको भाडामा मात्रै यात्रु बोक्ने भनेर एकमत भएको अवस्थामा आन्तरिक हवाई यात्रा स्वतः मंहगो हुने उनको भनाइ छ। थापाको भनाइमा बुद्ध, यती र श्री एयरको पनि एकमत छ।
कुन गन्तव्यको डलर फेयर कति?
काठमाडौं- पोखरा १२३
काठमाडौं- भद्रपुर १३९
काठमाडौं- भरतपुर ११०
काठमाडौं- विराटनगर ११५
काठमाडौं- भैरहवा ११३
काठमाडौं- धनगढी २२२
काठमाडौं- जनकपुर १२०
काठमाडौं- नेपालगञ्ज १५३
काठमाडौं-माउन्टेन फ्लाइट १९४
काठमाडौं- सिमरा १०३
काठमाडौं- राजविराज ११३
काठमाडौं- सुर्खेत १८८
काठमाडौं- तुम्लिङटार १३९
काठमाडौं- लुक्ला १७९
तर, डलर फेयरकै कारण अहिले नेपालीले आन्तरिक हवाई यात्रामा सस्तो टिकट पाइरहेका छन्। सरकारले तोकेको भन्दा ५० देखि ६० प्रतिशत कममा आन्तरिक वायुसेवा कम्पनीहरुले टिकट बेचिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।