काठमाडौं– अमेरिकी सहयोग मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे पार्टीभित्र विवाद चर्किरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘इन्डो प्यासेफिक स्ट्राटेजी’ प्रति झन् कडा दृष्टिकोण सार्वजनिक गरेको छ।
बुधबार नेकपाको राजधानीमा सुरु भएको दोस्रो पूर्ण केन्द्रीय कमिटि बैठकमा अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमा ‘इन्डो प्यासेफिक स्ट्राटेजी’ चीन घेर्न ल्याइएको उल्लेख छ।
‘उता संयुक्त राज्य अमेरिकाले आफ्नो महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ,’ अन्तर्राष्ट्रिय परिस्थितिबारे विश्लेषण गर्दै प्रतिवेदनमा भनिएको छ, ‘यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभुत्व विस्तार गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डो प्यासेफिक स्ट्राटेजी अगाडि बढाइरहेको छ।’
तर, यसअघि गत पुसमा बसेको नेकपा स्थायी कमिटि बैठकमा पेश गरेको प्रतिवदेनमा भने इन्डो प्यासेफिक स्ट्राटेजीप्रति तुलनात्मक रुपमा नरम दृष्टिकोण राखिएको थियो।
चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) र संयुक्त इन्डो प्यासेफिक स्ट्राटेजी (आइपिएस)लाई तुलना गर्दै ‘आपसमा टकराइरहेको’ उल्लेख गरिएको थियो।
‘आज चीनले अघि सारेको बिआरआई र संयुक्त राज्य अमेरिकाले विकसित गरिरहेको इन्डो प्यासेफिक स्ट्राटेजी आपसमा टकराइरहेका छन्,’ स्थायी कमिटि बैठकमा पेस गरिएको प्रतिवेदनमा भनिएको थियो, ‘आफ्नो अति महाशक्तिको स्थिति कायम राख्ने संयुक्त राज्य अमेरिकाको चाहना र त्यसको प्रतिवाद गरी आफूलाई विश्व अर्थतन्त्र र शक्तिको केन्द्र बनाउने चिनियाँ रणनीतिका वरिपरि विश्वको राजनीति घुम्न थालेको छ।’
खासगरी नेकपाको स्थायी कमिटि बैठकपछि एमसिसीमाथिको विवाद सतहमा आएको थियो। केन्द्रीय कमिटि बैठकमा भने एमसिसीबारे कुनै नाम उल्लेख नगरी सैन्य रणनीतिका रुपमा आएका आर्थिक सहयोग स्वीकार नगर्ने उल्लेख गरिएको छ।
‘यस सन्दर्भमा हाम्रो पार्टी र सरकारले आफू कुनै पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने कुरा स्पस्ष्ट छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यदि सैन्य रणनीतिकै रुपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडि आएमा नेपालले त्यसप्रकारका कुनै पनि सहयोगको प्रस्ताव मञ्जुर गर्न सक्तैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।