काठमाडौं– पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई मंगलबारदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ।
कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्र्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिए।
उनले भने, ‘माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ। यो घोषणा महत्वकांक्षी जस्तो लागेपनि सबैको सहयोगमा कार्यान्वयन गर्न सकिन्छ। यसमा सरकारले पूर्ण सहयोग गर्ने छ।’
कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक पर्यटक भित्र्याउने नेपालको प्रमुख तीर्थस्थल पशुपति दर्शनका लागि आग्रह गर्दै यहाँका संरचना निर्माणमा समेत सहयोग गर्न आग्रह गरे।
कोषका सदस्यसचिव डा प्रदीप ढकालले धार्मिक स्थलमा मानवीय संवेदनाको फाइदा उठाउँदै माग्ने प्रवित्तिलाई पेशाका रुपमा अँगाल्न थालिएकोप्रति चिन्ता प्रकट गरे।
अध्ययनका क्रममा १ सय ८२ जना पशुपतिको मूल मन्दिरको परिषरमा माग्नेको तथ्यांक निक्लिएको छ। जसमा ६ महिला मानसिक बिरामी भेटिएको कोषले जनाएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महांकाल मन्दिर परिसरमा पनि माग्नेको संख्या उल्लेख्य रहेको बताए। महानगरले ज्येष्ठ नागरिकका लागि मनोरन्जन केन्द्र निर्माण गर्न लागेको उनले जानकारीसमेत दिए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीलगायतले पशुपति क्षेत्रलाई मगन्तेरहित बनाउने अभियानमा सवैको सहयोग रहने विश्वास व्यक्त गरे।
मानवसेवा आश्रमको सहकार्यमा पशुपति क्षेत्रका मगन्तेलाई पुनःस्र्थापना गरिने सो अवसरमा जानकारी गराइयो। हालसम्म ८० मगन्ते आश्रमको गोँगबु र बूढानीलकण्ठ आश्रममा पुनःस्र्थापना भइसकेको जनाइएको छ।
यसअघि पशुपति क्षेत्रभित्र सवारी प्रवेश र गाँजा सेवनमा निषेध गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।